Aamsanchar

युरोकपको १५ औं संस्करण सुरु हुदैं

Author Image
शुक्रवार, जेठ २८, २०७३
पेरिस:
indexg
चर्चाका हिसाबले मिनी विश्वकपका रूपमा परिचित युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नेपाली समयअनुसार शनिबार बिहान फ्रान्समा सुरु हुँदैछ।
राति पौने एक बजे सुरु हुने उद्घाटन खेलमा आयोजक राष्ट्र फ्रान्सले रोमानियाको सामना गर्नेछ। सेन्ट डेनिसस्थित स्टेड डे फ्रान्समा भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन र पहिलो खेल हुनेछ।
युरोकपको यो १५ औं संस्करण हो। प्रतियोगितामा युरोपका २४ टोली सहभागी छन्। सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। लिग चरणको समाप्तिपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।
समूहको तेस्रो टोलीमध्ये शीर्ष चार टोलीले पनि अन्तिम आठमा स्थान बनाउनेछन्। यसअघि १६ टोलीमात्र सहभागी गराइँदै आएको यो प्रतियोगितामा यस पटकदेखि आठ टोली थप गरेर आकार बढाइएको हो।
विश्व फुटबलमा युरोपियन राष्ट्रको वर्चस्व बढिरहेको सन्दर्भमा युरोकपको उचाइ पनि अग्लिँदै गएको छ। युरोपबाहिर भएका पछिल्ला दुई विश्वकप युरोपियन टोलीले नै जितेका छन्।
प्रतियोगितामा स्पेन अघिल्ला दुई संस्करणको विजेता हो। युरोकपमा स्पेनबाहेक कुनै पनि टोलीले हालसम्म लगातार उपाधि जितेको छैन। गत विश्वकपमा समूहगत चरणबाटै बाहिरिएका कारण स्पेनलाई साख फर्काउने चुनौती पनि थपिएको छ।
स्पेनले सन् २००८ र सन् २०१२ मा युरोकप तथा सन् २०१० मा विश्वकप जितेर ऐतिहासिक सफलता हात पारेको थियो। स्पेन यस पटक पनि विजेता भएमा युरोकप सर्वाधिक (चार पटक) जित्ने टोली बन्नेछ। तर स्पेनका लागि उपाधिको यात्रा सजिलो भने छैन। सेमिफाइनलमा ७-१ र अर्जेन्टिनालाई हराएर १-० गोलले हराएर गत विश्वकप जितेको जर्मनी बलियो दाबेदारका रूपमा रहेको छ।
सन् २०१४ मा ब्राजिलमा आयोजित संस्करण जितेर विश्वकपमा २४ वर्ष लामो उपाधिको खडेरी टारेको जर्मनीले सन् १९९६ यता युरोकपमा सफलता हात पार्न सकेको छैन। युरोकपमा स्पेनसँगै जर्मनी पनि सर्वाधिक तीन पटकको विजेता हो।
यसै कारण युरोकपमा यस पटक जर्मनी र स्पेन नै चर्चाको केन्द्रमा छन्।प्रतियोगिता फ्रान्सले आयोजना गर्न लागेको यो तेस्रो पटक हो। यसअघि फ्रान्सले अन्तिम पटक सन् १९८४ मा यो प्रतियोगिता आयोजना गरेको थियो। त्यतिबेला फ्रान्स विजेता बनेको थियो।
युरोकपमा फ्रान्स आयोजकका रूपमा उपाधि जित्ने अन्तिम र समग्रमा तेस्रो टोली हो। यसअघि सन् १९६४ मा इटाली र सन् १९६८ मा स्पेनले यो सफलता हात पारेका थिए।
फ्रान्सका विभिन्न १० सहरमा आयोजना हुने यो संस्करणको फाइनल जुलाई १० तारिखमा स्टेड डे फ्रान्समै खेलिनेछ। प्रतियोगितामा समूह ‘ई’ लाई ग्रुप अफ डेथ मानिएको छ। यो समूहमा बेल्जियम, इटाली, आयरल्यान्ड र स्विडेन रहेका छन्।
बेल्जियमले गत विश्वकपमा सशक्त प्रदर्शन गरेको थियो। इटाली साबिक उपविजेता र सन् २००६ को विश्व च्याम्पियन हो। आयरल्यान्ड र स्विडेन पनि निकै बलिया टोली हुन्।
आइसल्यान्ड, अल्बानिया, उत्तरी आयरल्यान्ड, स्लोभाकिया र वेल्सले भने पहिलो पटक युरोकप खेल्न लागेका हुन्। युरोकपमा हालसम्म नौ टोली विजेता बनेका छन्। जर्मनी र स्पेनले सर्वाधिक तीन पटक उपाधि जितेका छन्।
जर्मनी तीन र स्पेन एक पटक उपविजेतामा सीमित भएका छन्।यसैगरी फ्रान्सले दुई पटक तथा तत्कालीन सोभियत संघ, इटाली, चेक गणतन्त्र, नेदरल्यान्ड्स, डेनमार्क र ग्रिसले एकएक पटक उपाधि जितेका छन्।
युगोस्लाभिया दुई पटक तथा बेल्जियम र पोर्चुगल एकएक पटक फाइनलमा पुगे पनि उपाधि जित्न असफल भएका थिए। यो प्रतियोगिताको विजेता सन् २०१७ मा रुसमा आयोजित हुने अन्तरमहादेशीय प्रतियोगिता कन्फेडेरेसन कपमा छनोट हुनेछ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर