दमक ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने विचार व्यक्त गर्नुभएको छ । उहाँले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएकोमा जोड दिनुभयो ।
आज बिहान दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकास, समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने बताउनुभयो । मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ ।”
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन दमक आउनुभएका प्रम ओलीले दमकलाई विकासको नमुना सहर बनाउने अठोट लिएको समेत भनाइ राख्नुभयो ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भ्यूटावरको शिलान्यास लगत्तै प्रधानमन्त्रीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गर्नुभएको थियो ।
नेपाल सरकारको करिब रु एक अर्बको लगानीमा बन्न लागेको उक्त भ्यू टावर ७२ फिट अग्लो र चारतले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनुभयो । दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा पूर्वकै व्यवस्थित बन्न लागेको सो भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ । भ्युटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए ।