Aamsanchar

ढिस्कोले घर भत्किँदा दुई बालबालिकाको मृत्यु

Author Image
मङ्गलवार, जेठ ३२, २०७३

ताप्लेजुङ ।

अविरल वर्षाका कारण माथिबाट झरेको ढिस्कोले घर भत्किएर पुरिँदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् ।

आज बिहान करिब २ बजेको समयमा माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । सीताका श्रीमान् मनकुमार तामाङ भने बैदेशिक रोजगारीमा रहेका छन् ।

यता मेची राजमार्गअन्तर्गत दोखुमा पर्ने ल्याङ्बा सडकखण्डमा माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध भएको छ । अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीसाधन बिचमै अलपत्र परेका छन् । मध्य रातिदेखि ताप्लेजुङमा लगातार वर्षा भइरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर