Aamsanchar

अरौटे र भरौटे पत्रकार होइन, क्षमता देखाउने पत्रकारको खाँचो

Author Image
शुक्रवार, असार ३, २०७३

press union

काठमाडौँ ।

देश र जनताको जनजीविकाका क्षेत्रमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत नौ जना महिला पत्रकारलाई आज राजधानीमा सम्मान गरिएको छ ।

सम्मानित हुनुहुने पत्रकारमा क्रमशः भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, रीता गुरुङ, शारदाकुमारी पौडेल धन लामा, अमृता लम्साल र शान्ता पौडेल हुनुहुन्छ । उहाँहरुले विभिन्न सञ्चार गृहमा पत्रिकारिता क्षेत्रका रही लगभग दुई दशकसम्म सेवा पु¥याउनुभएको थियो ।

नेपाल प्रेस युनियनको रजत महोत्सवको सन्दर्भमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेताले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

युनियनको महिला शाखाले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले निःस्वार्थ र निष्ठाको पत्रकारिताले लोकतन्त्रको सुदृढीकरण हुने बताउनुभयो ।

उहाँले लोकतन्त्रमाथि खतराको बादल मडारिएको बताउँदै लोकतन्त्रको रक्षाकवचका रुपमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

‘नेपाल प्रेस युनियनको अभियान ः भौतिक र पेसागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने नाराका साथ सुरु भएको दुईदिने राष्ट्रिय महिला भेलाले भोलि काठमाडौँ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको कार्यक्रमका सभापति बाला अधिकारीले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीति परिवर्तन सत्तास्वार्थमा केन्द्रीकृत भएकाले सकारात्मक परिवर्तन आउन नसकेको बताउँदै बलियो नेपाल बनाउन पत्रकारले अनवरत सत्य र निष्ठाको पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेतृत्व विकास स्वयम्बाट गर्नुपर्ने बताउँदै दयाबाट ग्रहण गरिएको नेतृत्वले संस्था हाँक्न नसक्ने बताउनुभयो ।

अर्का नेता पूर्णबहादुर खड्काले पत्रकारले सधैँ अध्ययनशील र सहनशील हुँदै अनुसन्धानका क्षेत्रमा दत्तचित्त भई खोजी पत्रकारिता गर्नुपर्ने जानकारी दिनुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले अरौटे र भरौटे पत्रकार बन्नुभन्दा पत्रकारिता पेसाबाट बिदा लिनु नै बेस भन्नुभयो ।

शुद्धीकरणका लागि अनवरत कलम चलाउने पत्रकारको कुनै बखतमा सम्मान हुने बताउँदै नेपाल प्रेस युनियनको अभियान ः बागबजारमा आयोजना गरेको सम्मान कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उहाँलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईंले महिला पत्रकारले अधिकार माग्नुको सट्टा क्षमता बढाउन आफूलाई केन्द्रीकृत गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन प्रजातन्त्रवादी पत्रकारको छाता सङ्गठन हो । झन्डै १० हजार सदस्य रहेको उक्त संस्था अन्तर्राष्ट्रिय पत्रकार सङ्गठन (आइएफजेको)को सदस्यता लिने पहिलो संस्था हो । यो संस्थाको ७३ जिल्लामा जिल्ला शाखा रहेका छन् भने महिला पत्रकारको सङ्ख्या भने पाँच प्रतिशत मात्र छ ।

कार्यक्रममा पत्रकारिता, पत्रकारको क्षमता अभिवृद्धि, प्रेस स्वतन्त्रता, मौलिक अधिकारलगायतका विषयमा विभिन्न क्षेत्रमा कार्यरत पत्रकारले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर