Aamsanchar

एम्बुलेन्स नपुग्दा समस्या

Author Image
बुधवार, असार १५, २०७३

पथरी ।

index

मोरङको कर्सिया–सोमबारे सडकखण्ड जीर्ण बनेका कारण एम्बुलेन्ससमेत नपुग्दा समस्या हुने गरेको छ ।

स्थानीयवासी ६० वर्षीय उमेश शर्माका अनुसार पञ्चायतकालमा निर्माण भएको सो सडक बालुवा बोक्ने ट्र्याक्टरका कारण कर्सिया बजारबाट पश्चिम–उत्तरस्थित बरियाती क्षेत्रमा धेरै खाल्डाखुल्डी परेको र भत्किएकाले एम्बुलेन्ससमेत छिर्न समस्या पर्ने गरेको छ ।

अर्का स्थानीयवासी हरिओम राजवंशीका अनुसार दैनिक तीनसयभन्दा बढी ट्र्याक्टरले सो क्षेत्रबाट बालुवा ओसार्ने गरेका छन् । जिविस मोरङले प्रतिट्र्याक्टर २३० रुपैयाँ कर उठाउँदै आए पनि सडकको मर्मतसम्भारमा चासो नदिएको स्थानीयवासी सन्तलाल खवासको भनाइ छ । सडक भत्किएको सडकको बीच भागमा हिलोले ससाना तलाउ नै बनेका छन् जसका कारण सडक प्रयोगकर्ताले सास्ती खेप्नु परिरहेको स्थानीयवासी मङ्गली अधिकारी बताउनुहुन्छ ।

स्थानीयवासी मणिराम शर्माका अनुसार सडकको गति बिग्रिएपछि सो बाटोबाट चल्ने चारवटा सार्वजनिक बससहित मोटरसाइकल चालक र अन्य सवारीसाधन चालकले समस्या झेल्नु परेको छ ।

सडकको मर्मतसम्भारका लागि स्थानीयवासी पटकपटक सरोकारवाला निकायमा धाउँदै आएका छन् । सो सडक भएर बालुवा गिट्टी ओसार्ने ट्र्याक्टरबाट जिविस मोरङका अतिरिक्त स्थानीय क्लबले समेत सडक मर्मतका लागि भन्दै रसिद दिएरै रकम असुल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

सडक मर्मतका लागि सङ्कलन भएको सो रकम दुरुपयोग हुने गरेको स्थानीयवासीको आरोप छ । सडककै अवस्थाका कारण त्यस क्षेत्रमा दैनिकजसो ट्र्याक्टर पल्टिने गरेको र प्रसूतिको समस्या भएका महिलालाई अस्पताल लानुपर्ने अवस्थामा एम्बुलेन्ससमेत सो सडकबाट हिँड्न नसक्ने अवस्था रहेको बबियाविर्ता–९ का दीपक थापाको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर