Aamsanchar

मधुमल्लामा बाढीपीडितलाई राहत

Author Image
शुक्रवार, असार १७, २०७३

मोरङ ।

मोरङको मधुमल्लामा गएको बक्राहा खोलाको बाढीबाट विस्थापित भएकाका लागि राहत सङ्कलन अभियान तीव्र पारिएको छ । अभियानकर्मी तेजन खड्काका अनुसार न्यानो अभियान उर्लाबारीको आयोजना तथा चलचित्र पत्रकार सङ्घ पूर्वाञ्चल, बुलेट गाइज इटहरा, उज्यालो समाज दुर्गापुरी, दीपज्योति क्लब, चिन्तन चौतारी मधुमल्ला, मङ्गलबारे युवा समाज लगायतको सहकार्यमा राहत अभियान तीव्र पारिएको हो ।

यसै क्रममा बिहीबार बेलुकासम्म मोरङको पथरीमा राहत सङ्कलन गरिएको छ । पथरी बजारबाट ४९ हजार ४३ रुपैयाँ सङ्कलन भएको छ । पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङ, चलचित्र पत्रकार सङ्घ पूर्वाञ्चल शाखाका अध्यक्ष सन्तोष राई, पत्रकार हरि कोइराला, विजय खम्बु, गोपाल काफ्ले लगायतले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो ।

बजारका व्यापारी तथा यात्रुले लत्ताकपडा, चाउचाउ, कपडा, स्टेसनरीका सामग्री पनि सहयोग गरेको न्यानो अभियानका संयोजक पूर्ण सिंह लिम्बूले जानकारी दिनुभयो ।

राहत सङ्कलनपछि कार्यक्रममा समाजसेवी जयधर्म आचार्य र इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक रमेश बस्नेतले कार्यक्रमको प्रशंसा गर्नुभयो । हप्तादिनअघि मधुमल्लाका विभिन्न वडामा नुनसरी बक्राहा खोलाको बाँध भत्किई बस्तीमा पसेको थियो । बस्तीमा पसेपछि झन्डै दुई सय घरपरिवार विस्थापित भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर