Aamsanchar

मेसीसँग डराउँथे नेमार

Author Image
शनिवार, साउन १, २०७३

लन्डन:

5789af3ae5fe67.61849782

ब्राजिलियन फुटबलर नेमारले बार्सिलोनामा अनुबन्ध हुनुअघि आफू उक्त टोलीका स्टार खेलाडीद्वय लियोनल मेसी र आन्द्रेस इनियस्टासँग डराउने गरेको खुलासा गरेका छन् ।

नेमारले बार्सिलोनामा मेसी र इनइस्टासँगै अभ्यास गरेको पहिलो दिन आफू निकै खुसी भएकोसमेत बताए । ब्राजिलियन टोलीका कप्तान नेमार सन् २०१३ मा घरेलु क्लब सान्तोषबाट युरोपकै चर्चित मध्येको क्लब बार्सिलोनासँग आबद्ध भएका थिए ।

उनलाई विश्वकै धनी अर्को स्पेनी क्लब रियल म्याड्रिडले लाखौं डलर रकमको प्रस्ताव गर्दासमेत नेमारले बार्सिलोना रोजेका थिए । सानै उमेरमा चम्किएका नेमारले बार्सिलोनासँग आबद्ध भएप्छि पनि आफ्नो त्यो छवि कायमै राखेका छन् । मेसी र अर्का स्ट्राइकर लुइस स्वारेजसँग बार्सिलोनाको अग्रपंक्तिमा जमेका नेमारले टोलीलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्‌याउँदै आएका छन् ।

यो सिजन मेसी, स्वारेज र नेमारले मिलेर बार्सिलोनाका लागि एक सय ३८ गोल गरे । यसमा नेमार एक्लैले ३१ गोल गरेका छन् । ब्राजिलियन टेलिभिजन च्यानल ग्लोबोलाई दिएको अन्तर्वार्तामा नेमारले भनेका छन्, ‘जब मैले बार्सिलोनामा मेरो पहिलो खेलअघि मेसी र अन्य खेलाडीलाई मेरोअघि देखेँ, म साँच्चिकै डराएको थिएँ ।’

 

उनले पहिलोपटक बार्सिलोनाका स्टार खेलाडीलाई भेट्दा आफूलाई निकै असहज भएकोसमेत बताएका छन् । ‘म जब ड्रेसिङ रुममा छिरे, मेसी, इनइस्टा, जेरार्ड पीके र डानी अल्भेसलगायतका खेलाडी थिए । नेमारले आफूलाई बार्सिलोनामा अभ्यस्त बनाउन अल्भेसले निकै मद्दत गरेकोसमेत बताएका छन् । अल्भेस पनि ब्राजिलियन फुटबलर हुन् ।

 

अल्भेस हालै बार्सिलोना छाडी इटालियन क्लब युभेन्टससँग अनुबन्ध भएका छन् । नेमारले सन् २०१४ मा आफ्नै देशले आयोजना गरेको फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनल चरणमा कोलम्बियाविरुद्धको खेलका क्रममा चोटग्रस्त बन्दा आफूले करिअर गुमाएको महसुस गरेकोसमेत सुनाए ।

 

खेलका क्रममा विपक्षी खेलाडी जुआन जुनिगाले घुँडाले प्रहार गरेपछि नेमारको ढाडको हड्डी भाँच्चिएको थियो । उनले सो विश्वकपका बाँकी खेल सबै गुमाएका थिए । यद्यपि उनी उपचारपछि फेरि खेल्नसक्ने भएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर