Aamsanchar

दैनिक २५० गाईवस्तुमा सङ्क्रमण

Author Image
बिहिवार, साउन १३, २०७३

बनेपा ।

काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षतिग्रस्त भएका गोठको व्यवस्थापन हुन नसक्दा गाई तथा भैँसीमा सङ्क्रमण देखिन थालेको छ ।

भूकम्पबाट अति प्रभावित जिल्लाको १४ वटा गाविसमा अविरल वर्षासँगै हिलोको कारण थुनेलो रोगको समस्या र ‘इथिनेरल फिवर’ देखिन थालेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । ठूलो सङ्क्रमण नभएको र पशु बिरामी भएपनि निको हँुदै गएको उहाँको भनाइ छ ।

“पशु बिरामी भएपनि कृषकले ठूलो नोक्सनी व्यहोर्नु परेको छैन,” उहाँले भन्नुभयो– “दैनिक करिब २५० गाई तथा भँैसीमा सङ्क्रमण देखिन थालेको छ ।” जिल्लाको चण्डेनीमण्डन, उग्रचण्डीनाला, देवीटार, गौरीबिसौना देउपुर, नाल्दुमपाटी देउपुरलगायत १४ वटा गाविसमा सो समस्या देखिएको हो ।

भूकम्पबाट अति प्रभावित छवटा गाविसमा गोठ व्यस्थापनका लागि रु २७ लाख वितरण भएको र पुनः गोठ व्यवस्थापनका लागि बजेट माग गरिएको सापकोटाले बताउनुभयो । कृषक सहकारी सङ्घ र संस्थाको सहकार्यमा नयाँ गोठ निर्माण गर्ने काम भइरहेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्ल्लामा एक लाख ३६ हजार ४८५ गाई र एक लाख ३० हजार ९९९ भैँसी कृषकले पालेका छन् । सत्तरी प्रतिशत कृषक पशुपालन व्यवसायमा संलग्न भएको जिल्लाबाट रु एक करोड ३५ लाख बराबरको तीन लाख लिटर दूध उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर