Aamsanchar

२० वर्षमा तराईको ३२ हजार हेक्टर जंगल नष्ट

Author Image
मङ्गलवार, साउन २५, २०७३

काठमाडौं। 

WOOD-KATANI_Tearai-445x300

प्राकृतिक स्रोतसाधन संरक्षणमा सरकारी उदासिनताका कारण पछिल्लो दुई दशकमा तराई–मधेस तथा चुरे क्षेत्रमा ३२ हजार हेक्टर वन बिनास भएको छ ।

प्राकृतिक प्रकोप पीडितको व्यवस्थापन, सुकुम्बासी अतिक्रमण, सुरक्षा निकायका ब्यारेक निर्माण, गिटी–बालुवाको अनधिकृत उत्खनन्, लडाकु शिविर, मुक्त कमैया, अन्तरदेशीय तस्करीलगायतका कारणले वन बिनास भएको हो ।

सन् १९९० देखि २०१० सम्मको अवधिमा २२ जिल्लामा वन बिनासको विकराल स्थिति देखिएको छ । कतिपय बिनास तथा तस्करीमा राजनीतिक दलका नेता तथा कार्यकर्ताकै संलग्नता देखिएको पनि अनुसन्धानबाट खुलेको छ ।

नापी विभागले सन् १९९१ मा गरेको सर्भेअनुसार तराईमा २० लाख ४८ हजार ९९० हेक्टर वन क्षेत्र उल्लेख छ । तर, ६ वर्षअघि वन अनुसन्धान तथा सर्भेक्षण विभागको सर्भेमा वनको कुल क्षेत्रफल २० लाख १६ हजार ९९८ हेक्टर देखिएको छ ।

तराईमा घट्दो वनको घनत्व र मासिनुको कारण

  • १९९५: २० लाख ४८ हजार ९९० हेक्टर

  • २०१०: २० लाख १६ हजार ९९८ हेक्टर

  • २०१६: ६ वर्षयता अतिक्रमण अनुसन्धान शून्य

  • वार्षिक ०.४० प्रतिशत जंगल नष्ट

  • प्रशासनको सक्रियतामा अतिक्रमित ३ सय हेक्टर जंगल खाली

  • तस्करी, सुकुम्बासी, बस्ती स्थानान्तर, प्रकोप व्यवस्थापन, सुरक्षा निकायका ब्यारेक निर्माण बिनासको कारण

वन बिनासको यो क्रमले तराई–मधेस तथा चुरे क्षेत्रमा वार्षिक वन क्षेत्र ०.४० प्रतिशतका दरले घट्दै गएको वन मन्त्रालयले जनाएको छ । साल, सिसौ, खयर, सल्लालगायत महँगा काठ तराईका जंगलको प्रमुख विशेषता हो । पछिल्लो ६ वर्षयताको बिनाससम्बन्धी तथ्यांक अझ डरलाग्दो रहेको वन तथा भू–संरक्षण मन्त्रालयकै अधिकारी स्वीकार्छन् ।

संरक्षणमा अन्तरमन्त्रालय क्षेत्राधिकार विवाद पनि देखिने गरेको छ । वन संरक्षण योजनाअन्तर्गत सन् २०१४ सम्ममा सरकारले तराईमा अतिक्रमित ३ सय हेक्टरभन्दा बढी वन क्षेत्र खाली गराएको छ । बहुमूल्य तथा महँगा काठजन्य वन पैदावार तस्करी पनि वन बिनासको प्रमुख कारण वनेको वन मन्त्रालयले जनाएको छ ।

वन क्षेत्रमा बढ्दै गइरहेको अतिक्रमण, पूर्वाधार निर्माण, बढ्दो वन फँडानी, चोरी, तस्करीलगायत गतिविधि पनि वन बिनासको प्रमुख कारण हो । चुरे क्षेत्रमा १८ लाख ९८ हजार २६३ हेक्टर वन क्षेत्र छ । सन् १९९५ देखि सन् २०१० सम्ममा ३८ हजार हेक्टर वन घटेको सर्वेक्षण विभागको तथ्यांकमा उल्लेख छ । चुरेमा वार्षिक ०. १८ प्रतिशतका दरले वन क्षेत्र बिनास भइरहेको छ । वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुर सशस्त्र वन रक्षकको दरबन्दीअनुसार पदपूर्ति नहुँदा संरक्षणमा चुनौती थपिएको बताउँछन् ।

“सशस्त्र वन रक्षकको दरबन्दी नै पूरा हुन सकेको छैन, हतियार पनि पर्याप्त छैन, जसले गर्दा वनको सुरक्षामा चुनौती देखिएको हो,” सचिव ठाकुर भन्छन्, “वन तस्करी र अतिक्रमणको निशाना तराई÷मधेसमा बढी छ ।”

गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइराला प्राकृतिक स्रोतसाधन संरक्षणमा सरोकारवालाबीच समन्वय अभाव र जिम्मेवारीप्रति जवाफदेही बन्न नसक्दा समस्या आएको बताउँछन् । वन तथा प्राकृतिक सम्पदा संरक्षणमा वन, उद्योग, गृह, वातावरण, भूमिसुधारलगायत मन्त्रालय जिम्मेवार छन् । “वनलगायत प्राकृतिक स्रोतसाधन संरक्षणमा धेरै पक्षहरूलाई अधिकार दिएका कारण समस्या आएको हो,” प्रवक्ता कोइराला भन्छन् ।स्रोत- कारोबार दैनिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर