Aamsanchar

नेविसङ्घको बन्द सत्र आजदेखि सुरु हुने

Author Image
बिहिवार, साउन २७, २०७३

काठमाडौँ । 

nebisang-265x130

नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनले बिहीबार बिहानबाट निरन्तता पाउने भएको छ ।  आइतबारको औपचारिक उद्घाटनपछि अवरुद्ध बन्दसत्र कार्यक्रम बिहीबारबाट सुरु हुने भएको छ ।
कतिपय जिल्लामा समान्तर कमिटी गठन गरिएको र महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखाउँदै छुट्टाछुट्टै विद्यार्थी समूहले आमरण अनशन जारी राखेपछि महाधिवेशन उद्घाटनपछिको अन्य अनौपचारिक कार्यक्रम स्थगित गरिएका थिए ।  तीन दिनसम्मको लगातार छलफल र वार्तापछि असन्तुष्ट पक्षहरू सहमतमा आएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशन समितिका संयोजक डा. प्रकाशशरण  महतले बताउनुभयो ।
असन्तुष्ट पक्षसँगको वार्ता मिलेपछि बुधबारबाट नै निर्देशन समितिले महाधिवेशन सञ्चालन गर्न निर्देशन दिएको हो तर महाधिवेशन आयोजक कमिटीका संयोजक एवं सङ्घका अध्यक्ष रञ्जित कर्णले प्रतिनिधि पास बनाउन समय लाग्ने भएकाले बिहीबार मात्र सुरु गर्ने बताउनुभयो ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो उपचारका क्रममा ओम अस्पताल र मोडेल अस्पतालमा भर्ना गरिएका दुुई जना विद्यार्थीलाई जुस खुवाएर अनशन तोडाउनुभएको थियो ।  उहाँहरूले अनशन तोडेसँंगै महाधिवेशनको अन्य कार्यक्रम अगाडि बढाउन बाटो खुलेको छ ।
वार्ता पनि मिल्यो, अनशन पनि तोडे, संयोजक महतले भन्नुभयो, “मैले त बुधबारबाट नै सुरु गरौँ भनेको थिएँ तर प्राविधिक कारणले हुन सकेन ।  विवादित जिल्लाको समान्तर कार्य समितिलाई यथावत् राखी महाधिवेशन प्रतिनिधि बढाउने सहमति भएको छ । ”
सोही सहमति अनुरूप तीन हजार चार सय ५० जना महाधिवेशन प्रतिनिधि थप बढ्ने देखिन्छ ।
बिहीबार बिहान पास वितरण गर्ने, बन्द सत्र सञ्चालन गर्ने र मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।  सम्भवतः शुक्रबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यक्रम राखिएको छ ।   यसैबीच, महाधिवेशन लम्बिने क्रमसँगै खर्च पनि बढेको आयोजक कमिटीले जनाएको छ ।  २३ गतेदेखि २५ गतेसम्मका लागि होटल बुकिङ तथा खानपानको व्यवस्था मिलाइएको थियो तर एक हप्ता नै लाग्ने भएपछि खर्च दोब्बर भएको जानकारी आयोजकले दिएका छन् ।
पार्टी सभापति देउवाले पनि महाधिवेशन शान्तपूर्ण वातावरणमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।  काँग्रेस पार्टी आफैँमा लोकतन्त्र र प्रजातन्त्रको जग भएकाले सङ्घको नेतृत्व सक्षम र विवादरहित छनोट गर्न उहाँले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर