Aamsanchar

गर्भपतन गराएकी महिलाको अवस्था गभ्मीर

Author Image
आइतवार, भदौ १९, २०७३

खोटाङ ।

जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो ।

यही भदौ १६ गते गर्भपतन गराउन अस्पताल आएकी महिलाको चिकित्सकहरुकै सल्लाहमा सोही दिन गर्भपतन गरिएको थियो । शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको अवस्था अहिले गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

गर्भपतन गराउने क्रममा चिकित्सक सन्तोष साहको लापरवाहीले श्रीमतीको ज्यान जोखिममा परेको उहाँका पति चन्द्र किरात राईले बताउनुभयो । “हामीले यहाँ हुँदैन भने नगर्दिनुस् भनेका थियौं,” श्रीमतीसँगै अस्पताल आउनुभएका राईले भन्नुभयो, “गर्भपतन गरिसकेपछि तत्काल बाहिर लैजान भन्यो । अहिले ज्यानै खतरामा परेको छ ।”

आर्थिक अवस्था कमजोर भएकी महिलालाई अस्पतालले रेफर गरेपछि शनिबार काठमाडौँ पठाउन आफन्तले खानीडाँडा विमानस्थलसम्म पु¥याएका थिए । मौसममा आएको खराबीका कारण हवार्ईजहाज नआएपछि उनलाई पुनः अस्पताल नै फर्काइएको छ ।

शल्यक्रियापछि निरन्तर रगत बगेर टलकुमारी अस्पतालको शय्यामा छट्पटाई रहनुभएको छ । सात जनाकी आमा टलकुमारीले आँखाभरि आँसु पार्दै भन्नुभयो – “अब म मर्ने नै भएँ । मेरा सात जना छोराछोरी छन् । उनीहरुको बिचल्ली हुनेभयो ।”

योनीबाट निरन्तर रक्तस्राव हुनुका साथै टलकुमारीको पेट अत्यधिक फुलेर बस्न नमिल्ने भएको छ । उहाँको श्वासप्रश्वासमा पनि समस्या रहेको र शरीरमा रगत सकिएकाले रगत र हावा दिने काम भइरहेको अस्पतालले जनाएको छ ।

यस विषयमा कुरा गर्न खोज्दा शल्यक्रिया गर्ने चिकित्सक साहसँग टेलिफोन सम्पर्क हुन सकेको छैन । अस्पतालका प्रमुख चिकित्सक डा. रामबहादुर केसीले टलकुमारीलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजान अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर