Aamsanchar

महेन्द्र उद्यानलाई नयाँ जीवन दिइँदै

Author Image
शनिवार, भदौ २५, २०७३

भद्रपुर,।

MAPJHAPA

झापाको सदरमुकाम चन्द्रगढीमा चार दशकअघि निर्मित महेन्द्र उद्यान पुनःसञ्चालनमा ल्याउन मर्मत, रङ्गरोगन तथा सरसफाइको काम तीव्र गतिमा भइरहेको छ ।

विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनमा पसेको हुलले वर्गाकारसो उद्यानभित्र रहेको महेन्द्रको सालिक भत्काएपछि बन्द भएको थियो । भत्काइएको सालिकको स्थानमा सर्वस्वीकार्य व्यक्तित्वको सालिक राख्ने सोच नगरपालिकाले राखेको छ ।

लगभग १६ कट्ठा जग्गामा रहेको सो उद्यान स्थानीयस्तरमा निकै लोकप्रिय र साँझमा मनोरञ्जन गर्ने केन्द्रका रुपमा परिचित थियो । चार दशकअघि तत्कालीन मेची अञ्चल अञ्चलाधीश छिरिङ लामाको प्रयासमा उद्यान निर्माण भएको थियो ।

अहिले भद्रपुर नगरपालिकाले रु ४७ लाख बजेट विनियोजन गरी उद्यानभित्रका संरचनालाई पुनःनिर्माण एवम् मर्मत तथा रङ्गरोगनको काम सुरु गरेको कार्यकारी अधिकृत सन्तोष घिमिरे बताउनुभयो ।

उद्यानको सरसफाइ, मर्मत एवम् रङ्गरोगनमा नगरपालिकाका कार्यकारी अधिकृत, इन्जिनियरदेखि सबै कर्मचारी तथा नगर क्षेत्रका युवा, समाजसेवी, उद्योगी, व्यापारी र राजनीतिक दलका कार्यकर्ता जनश्रमदान गरिरहेका छन् ।

उनीहरु बिहानैदेखि काममा जुटेका छन् । आजदेखि रोटरी क्लब भद्रपुरले उद्यानभित्र जन श्रमदान गर्ने अभिलाषाका साथ भद्रपुर नगरपालिकासँग सम्झौता गरी काम थालिसकेको छ । नगरपालिकाभित्र नमुनाका रुपमा रहेको सो उद्यानलाई आउने आगामी घटस्थापनाभन्दा अगावै सञ्चालनमा ल्याइने नगरपालिकाका कार्यकारी अधिकृत घिमिरे बताउनुभयो ।

उद्यानभित्र विश्रामगृह, पिङ, विभिन्न किसिमका फूल र अन्य बोटबिरुवा रहेकाले पूर्ण रुपमा वातावरणमैत्री रहेको नगरपालिकाका ओभरसियर सुजित कर्णले बताउनुभयो । उद्यानको रेखदेख एवम् व्यवस्थापनका लागि नगरपालिकाबाट दुई माली खटिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर