Aamsanchar

देशकै सर्वोत्कृष्ट विद्यालय बनेपछि यसरी मनाइयो खुसीयाली

Author Image
सोमवार, भदौ २७, २०७३

पोखरा  ।

देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेको पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी माविले आइतबार एक भव्य कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ ।

साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका अवस्थामा सरकारबाट आठ वटा दरबन्दी र तीन वटा राहत कोटा मात्र पाएर अन्य सबै निजी स्रोतबाट सञ्चालनमा आएको विद्यालय सर्वोत्कृष्ट बनेको भन्दै विद्यार्थी, अभिभावक एवम् शिक्षकले सामूहिक रुपमा हर्षोल्लास मनाएका हुन् ।

विद्यालयले ३७औँ शिक्षा दिवस एवम् साक्षरता दिवसका अवसरमा सरकारबाट यही भदौ २३ गते यस वर्षको सर्वाेत्कृष्ट विद्यालयका रुपमा रु दुई लाख नगद पुरस्कारसहित राष्ट्रिय सिल्ड प्राप्त गरेको थियो ।

विद्यालयले उत्कृष्ट भएबापत सरकारबाट प्राप्त गरेको राष्ट्रिय सिल्ड, रु दुई लाखको चेकसहित विद्यार्थी, शिक्षक तथा अभिभावक सहभागी ¥यालीले विद्यालय आसपासका विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रत्येक वर्षको शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले सामुदायिक र संस्थागत विद्यालयबाट राष्ट्रिय र क्षेत्रीय उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गर्ने गरेकोमा सामुदायिकतर्फको सर्वोत्कृष्ट विद्यालयको पुरस्कार एवम् सम्मान शीतलादेवीले प्राप्त गरेकोमा अत्यन्त हर्ष लागेको विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले बताउनुभयो ।

देशका अधिकांश सामुदायिक विद्यालय राजनीतिकरणको प्रभावमा परे पनि शीतलादेवीलाई त्यसको प्रभावले छुन नसकेका कारण सफलता हासिल गर्न सकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताउनुभयो ।

विद्यार्थी, शिक्षक तथा अभिभावकको सक्रियता तथा मेहनतको प्रतिफलस्वरुप विद्यालयले सर्वोत्कृष्ट स्थान ओगट्न सफल बनेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिरोमणि बरालले चर्चा गर्नु भयोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर