Aamsanchar

पाँचदिनदेखि बेपत्ता विद्यार्थी अझै भेटिएनन्

Author Image
बिहिवार, भदौ ३०, २०७३

पाँचथर।

Panchthar-hamrakura.jpg

फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् ।

फिदिमका विभिन्न व्यक्तिको मोबाइल चोरेको भन्दै प्रहरीले पृथ्वीलाई विद्यालयबाटै शनिबार दिउँसो नियन्त्रणमा लिएको घटनापछि उनीहरु बेपत्ता भएका हुन् । अनुसन्धानबाट पृथ्वीले मोबाइल चोरेको पाइएपछि चोरेको मोबाइल प्रहरीमार्फत सम्बन्धितलाई फिर्तासमेत गराइएको थियो । त्यसपछि पृथ्वीलाई रातको १० बजे प्रहरीले विद्यालयलाई जिम्मा दिएको बुझिएको छ ।

विद्यालयमा ल्याएपछि आइन्दा त्यसो नगर्न भन्दै सम्झाउने हिसाबले पृथ्वीलाई सामान्य गाली गरेर सुत्न पठाएको प्रिन्सिपल सीता सेलिङले बताउनुभयो । सुत्न गएका पृथ्वी मिल्ने साथी वसन्तलाई लिएर शनिबार राति १२ बजे होस्टल छोडेर बेपत्ता भएको उहाँले सुनाउनुभयो । दुई बालक बेपत्ता भएपछि अभिभावक र विद्यालय प्रशासनमा तनाव उत्पन्न भएको छ ।

अभिभावक, विद्यालय प्रशासन र प्रहरीबाट व्यापक खोजी भइरहे पनि हालसम्म बेपत्ता दुई विद्यार्थी भेटाउन नसकिएको विद्यालयले जनाएको छ । च्याङथापु–३ घर भएका पृथ्वी नर्सरीदेखि नै मेची बोर्डिङमा पढ्दै आएका विद्यार्थी हुन् ।

पृथ्वीका बुबा जगदीश राईले मोबाइल चोरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गर्दासमेत आफूलाई विद्यालयले जानकारी नगराएको गुुनासो गर्नुभयो । आफ्नो एउटा मात्र छोरा बेपत्ता हुनुमा विद्यालयको लापरबाही भएको पनि उहाँले दुखेसो गर्नुभयो । पृथ्वीसँगै बेपत्ता भएका वसन्तको घर भने फिदिम–३ लालीखर्क हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)