नरेन्द्र ढकाल/
झापा ।

नेपालमा संविधान जारीभएपछि संविधानको स्वागत नै नगरी मधेस आन्दोलनको बहनामा भारतले नेपालमाथि लगाएको नाकाबन्दी (आज) बिहिबार एक वर्ष पुरा भएको छ ।

मधेस आन्दोलनले आफ्नो देशमा असर परेको भन्दै भारतले गत वर्षको असोज ६ गतेदेखि करिब ६ महिना सम्म अघोषित रुपमा नाकाबन्दी गरेको थियो । पश्चिम तराईका केही जिल्लामा भएको आन्दोलनको बहाना बनाएर अन्तराष्ट्रिय मान्यता र सम्झौता विपरीत भारतले नेपालमा नाकाबन्दी गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले नाकाबन्दी खोल्न आग्रह गरेका थिए । तर भारतले उक्त कुरालाई मधेसबादी दलहरुले नाकाबन्दी गरेको र आफुहरुले नाकाबन्दी नगरेको जवाफ दिएको थियो । संविधान जारी भएपछि नेपालमा राजनीतिक परिवर्तन भन्दा पनि सत्ता परिर्वनमा ध्यान केन्द्रि हुदाँ खाना पकाउने ग्यासको हाहाकार भएको थियो भने पेट्रोलियम पदार्थ ठप्प हुदा सवारी सञ्चालनमा समेत जोर विजोर प्रणाली लागु गर्नुपरेको थियो ।

राजनीतिक परिर्वतनसंगै सत्ता सम्हाल्न पुगेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंग नझुक्ने अडान दोहो¥याउदा नेपाली जनताले समेत साथ दिएका थिए । नेपाली जनताको मनमा बस्न सफल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नाकाबन्दी पछि नेपाली जनताले सुन्न समेत चाहेन्न । नाकाबन्दीको समयमा आत्मनिर्भताका कुरा गरेपनि अझै परनिर्भता नै बढी रहेको अर्थ विद्हरुको भनाई छ ।
मेची भन्सार कार्यालयको तथ्याङ्क हेर्ने हो भने निकासी भन्दा पैठारी नै धेरै रहेको मेची भन्सार कार्यालय कांकरभिट्टाका प्रमुख भीमप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार नाकाबन्दी खुलेपछि पनि विगतका झै सामानहरु आयत हुनेगरेकाले आत्मनिर्भर बन्ने आधार तयार नभएको बताए । भन्सार कार्यालयका प्रमुख अधिकारीले भारतसंग मात्रै ७० प्रतिशत वैदेशिक ब्यापार हुने उल्लेख गरे । पूर्वी नाकाबाट बंगलादेश, भुटान, चीन लगायतका मुलुकसंग ब्यपार हुनेगरेको भन्सार कार्यालयले जनाएको छ ।
पेट्रोलियम पर्दाथ, कोइला लगायत विभिन्न वस्तुका कच्चा पदार्थ यो नाकाबाट बढी मात्रमा भित्रने गरेको गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । नाकाबन्दीको अवधिमा नेताहरुको मुखमा झुण्डीएको आन्मनिर्भता शब्द नाकाबन्दी खुल्न साथ हराएर गयो । नागरिकले समेत आत्म निर्भर बन्नुपर्ने महशुस गरेपनि नाकाबन्दी खुलेपछि परनिर्भतामा नै रमाएको भन्सार कार्यालयको तथ्याङ्क हेर्दा प्रष्ट हुन्छ ।
सामान आयतको दृष्टिकोणमा मेची भन्सार कार्यालय छैठौं स्थानमा रहेको भन्सार कार्यालयका अधिकृत अधिकारीले बताए । उनका अनुसार २०७१/ ७२ मा ४ अर्ब ८० करोड राजश्व संकलन गरेको भन्सार कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ६ अर्ब ८४ करोड राजश्व उठाउन सफल भयो । चालु आर्थिक वर्ष २०७३/ ७४ मा ६ अर्ब ८७ करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ ।
भारतले विभिन्न बहानामा नेपालमा दुई पटक नाकाबन्दी लगाइसकेको छ । उसको अनुकुलता भएन भने विभिन्न कारण देखाउदै नेपालीहरु माथि नाकाबन्दी लगाउने भारतको हर्कत विरुद्ध नाराबाजी र खोक्रो भाषणा गरेर मात्र नहुने भन्दै अब आत्मनिर्भता हुने खालको आर्थिक नीतिहरु ल्याउनुपर्ने अर्थशास्त्रका जानकारहरु बताउँछन् ।

