Aamsanchar

कुहिएको वस्तुबाट सस बनाउने उद्योगमा शीलबन्दी

Author Image
मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ ।

सस बनाउने कच्चा पदार्थ सडेगलेको पाएपछि चुरियामाई सस उद्योग धापाखेललाई सिलबन्दी गरिएको छ ।

सिलबन्दी गरिएको उक्त सस उद्योगलाई तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा सस बनाउने कच्चा पदार्थ सडेगलेको पाएपछि सो उद्योगमा सिलबन्दी गरिएको हो ।

यसैगरी विभागले महाकाली सेती यातायात व्यवसायी सुन्धारा र बर्दिया कृष्णनगर यातायात सुन्धारालाई सरकारले तोकेको भाडादर अनुरुप टिकट बिक्री गर्न र विद्यार्थीलाई पनि छुटको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

नियमित अनुगमनका क्रममा विभागले आज काठमाडौँ उपत्यकाको १२ स्थानमा अनुगमन गरिएको थियो ।

त्यस्तै गत भदौ २४ गते सिलबन्दी गरिएको अङ्गुरा सस उद्योग धापाखेलले निर्देशन पालना गरेको पाएपछि अनुगमन टोलीले आज त्यसको सिल तोडिएको छ ।

त्यसैगरी दर्ता नगरी क्लिनिक सञ्चालन गरेका,े बिक्री बिल औषधि व्यवस्था विभागको ढाँचाअनुसार नभएको, औषधि पसल नै दर्ता नगरी ओपिडी सञ्चालन गरेको पाएपछि कात्यायनी फार्मेसी जडीबुटी तथा क्वालिटी फार्मेसी, समुन्त फार्मेसी, लालुपाले मेडिकल सेन्टर र लालुपाते पोलिक्लिनिक पेप्सीकोलालाई जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गरी सात दिनभित्र आपूर्ति व्यवस्थापन विभागमा आउन निर्देशन दिइएको छ ।

म्याद नाघेको सामान बिक्री वितरण गरेको, दर्ता नवीकरण नगरेको भन्दै भाटभटेनी सुपरस्टोर र सेलबेज डिपार्टमेन्टल स्टोर महाराजगन्ज तथा विगमार्ट लाजिम्पार्टलाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिँदै मिति सकिएको ५०० एमएलको ३७ बोतल फेन्टा, २ दशमलव २५ लिटरको पाँच बोतल मिरिन्डा नष्ट गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर