काठमाडौं,
डेंगुको प्रकोप फैलिँदै गए पनि परीक्षण गर्ने किटको अभावले उपचार प्रभावित भएको छ । तत्कालका लागि किट खरिद गरी बुधबार नै ल्याउने बताइए पनि किट आइपुगेको छैन । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार एक हजार थान किट आउने दाबी गरेको छ ।
तर यो सबै ठाउँका लागि पर्याप्त भने हुने छैन । किट अभावका कारण डेंगु रोग लागेको आशंका गरिएका व्यक्तिको रगत परीक्षण हुन सकेको छैन । डेंगु चितवन, झापा, पर्सा, काठमाण्डू, ललितपुर, रुपन्देही, कैलाली, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा, सप्तरीलगायत १६ जिल्लामा देखिसकेको छ ।
तराइका सबैजसो जिल्लामा डेंगुको संक्रमण भएको हुन सक्ने आशंका गरिएपनि परीक्षण भएको छैन । यस्तै पहाडी जिल्लामा पनि डेंगुको संक्रमणको खतरा रहेको डा. शेरबहादुर पुनले बताउनुभयो । लामखुट्टे सक्रिय भइरहेकाले पहाडी क्षेत्रमा पनि डेंगुको खतरा उच्च रहेको उहाँले बताउनुभयो ।
एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगु लाग्छ । यो लामखुट्टेले सफा पानीमा फूल पार्ने हुँदा खुला रुपमा राखिएका बाल्टी, ड्रम्पमा थापेको पानी हप्तामा दुई पटक पानी फेर्न डाक्टरको सुझाव छ । यस्तै घर आँगनमा जमेको पानी हटाउन र लामखुट्टेको टोकाइबाट बँच्न पनि डाक्टरले सल्लाह दिएका छन् ।