[नरेन्द्र ढकाल]
विर्तामोड ,
झापामा पनि महिलामा स्तन क्यान्सरको समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । जिल्लामा कती महिलामा स्तन क्यान्सरबाट पिडित छन् भन्ने यकिन तथ्याङ्क नभएपनि महिलामा हुने स्तन क्यान्सर बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुशुुधन कोइरालाले आफु मंगलबार मात्र झापाको जिम्मेवारी सम्हाल्न आएको तथा आउन साथ दमकमा फैलिएको डेंगु रोग नियन्त्रण अभियानमा सक्रिय भएर लागेकाले स्तन क्यान्सरबारे जानकारी लिन नपाएको बताएका छन् । उनले पछिल्लो समय स्तन क्यान्सरका बिरामी भने बढ्दै गएकाले झापामा पनि यो दर बढ्न सक्ने उल्लेख गरे । सामान्य जानकारीको अभावमा कयौं महिलाको स्तन क्यान्सरबाटै मृत्यु हुने गरेको बताउदैं उनले स्तन क्यान्सरको बारेमा सचेतना आवश्यक भएको कोइरालाको भनाई थियो ।
स्तन क्यान्सरबारे जानकारी दिन अक्टोबर महिनाभर विभिन्न कार्यक्रम गरी विश्वभर विश्व स्तन क्यान्सर दिवस मनाईंदै छ । तर नेपालमा कति महिला स्तन क्यान्सरबाट पीडित छन् भन्ने तथ्यांक नै छैन । पाठेघरको मुखको क्यासरबाट पीडितपछि स्तन क्यान्सर पीडित महिला नै बढी भएको चिकित्सकहरुले बताएका छन् ।
मेची अञ्चल अस्पताल भद्रपुरका सुपरिटेन्डेन डा. पिताम्बर ठाकुरका अनुसार झापामा पनि स्तन क्यान्सरका बिरामीहरु पछिल्लो समय बढ्दै गएको छन् । उनका अनुसार एक–दुई दिनमा कम्तिमा एक जना महिलामा स्तन सम्बन्धि समस्या लिएर मेची अञ्चल अस्पताल आउने गरेका छन् । आमसञ्चार आनलाईनसंग ठाकुरले भने–यहाँ क्यान्सरको उपचार नहुने भएकाले स्तनमा समस्या आउन बित्तिकै क्यान्सर अस्पताल जाने भएकाले फलोअपमा कोही पनि आउदैनन् । त्यसैले यकिन तथ्याङ्क छैन ।
डा. ठाकुरका अनुसार १६ वर्षदेखि ४५ वर्ष उमेर समुहका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले बच्चा नजन्माउने, धेरै उमेरमा बच्चा जन्माउने, स्तनपान नगराउने शरीरको वजनमा अत्याधिक वृद्धि तथा रक्सीको अत्याधिक सेवन गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको जनाएको छ ।
बदलिँदो जीवनशैली, अस्वस्थकर जीवनयापन, औषधिको अत्याधिक प्रयोग गर्ने महिलामा पनि स्तन क्यान्सर देखिने चिकित्सकहरुले बताएका छन् । स्तनमा गाँठागुँठी आउनु, स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिप जस्तो पदार्थ बग्नु, स्तन सुन्निनु तथा थिच्दा दुख्नु स्तन क्यान्सरका लक्षण हुन् । स्तन क्यान्सर बंशाणुगत रोग भएको चिकित्सकहरुको भनाई छ । पछिल्ला दिनमा युवती तथा किशोरीहरुमा पनि स्तन क्यान्सरको समस्या देखिएको छ । खासगरी स्तनको संरक्षणका लागि लगाईने ब्रा को अनुपयुक्त, अनुचित र अव्यवस्थित प्रयोगबाट यस्तो समस्या बढेको नयाँ अध्ययनहरुले देखाएको चिकित्सकहरुको भनाई छ ।
क्यान्सर रोग लागेका मानिसहरुमा एक्कासी तौल घट्ने, खानामा अरुचि बढ्ने, टाउको दुख्ने, वान्ता भईरहने, महिलाहरुमा महिनावारी रोकिएपछि पनि लगातार रगत देखिने र स्तनको वरिपरी डल्लो र गिर्खा देखिने गर्दछ ।
नेपालमा क्यान्सर रोगको उपचारमा केहि सहजकता भए पनि प्रविधिको पहुँच नहुँदा अत्यन्तै खर्चिलो उपचार मानिएको छ । यसैबीच मेची अञ्चल अस्पतालका सुपरिटेन्डेन डा. ठाकुरले महिलाहरुलाई आफ्नो स्तनको परिक्षण आफैं गर्न सुझाव समेत दिएका छन् । स्तनमा डल्लो तथा गिर्खा देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन उनले आग्रह गरेका छन् ।