Aamsanchar

बीएण्डसीमा नर्मल डेलिभरी र औषधि निःशुल्क

Author Image
बुधवार, मंसिर ८, २०७३

छ जना वरिष्ठ स्त्री रोग विशेषज्ञ दैनिक सेवामा

b& chospital

बिर्तामोड ।
झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलले नर्मल डेलिभरी (प्रसुती)को निःशुल्क सेवा शुरु गरेको छ ।
हस्पिटलले मंसीर १ गतेदेखि वरिष्ठ स्त्री रोग विशेषज्ञबाट औषधिसहित नर्मल डेलिभरीको निःशुल्क सेवा शुरु गरेको हस्पिटलका मेनेजिङ डाइरेक्टर डा. निराजन प्रसाईंले जानकारी दिए ।
मेची अञ्चलबासीको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन पैसाभन्दा सेवालाई प्राथमिकतामा राखेर हस्पिटलले त्यस्तो सेवा शुरु गरेको डा. प्रसाईंले बताए । नर्मल डेलिभरीको निःशुल्क उपलब्ध हुने सेवा अन्तरगत बेड चार्ज, नर्मल डेलिभरी र विरामी अस्पतालमा बसुन्जेलको औषधि रहने बताइएको छ ।
बीएण्डसीमा बच्चा जन्मिएपछि अत्याधुनिक एनआइसीयु र पीआइसीयुको सेवासमेत उपलब्ध रहेको छ । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलकुमार साह नेतृत्वको छ जना वरिष्ट स्त्री रोग विशेषहरुको टोलीले बीएण्डसीमा गाइनो र प्रसुती सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ ।
उक्त हस्पिटलमा एक सय गाइनो बेड, २६ वटा एनआइसीयु र १० वटा पीआइसीयु बेड रहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।
बच्चा जन्मने बित्तिकै कुनै समस्या भए एनआइसीयु कक्षको बेडमा राखेर उपचार गरिन्छ । पाँच वर्षभन्दा माथिका बच्चालाई पीआइसीयु कक्षको बेडमा राखेर विशेष उपचार गरिन्छ । डा. सुनिलले पत्रकारसँग कुरा गर्दै बीएण्डसीमा आएको जस्तोसुकै गाइनो र प्रसुती सम्बन्धी समस्याको समाधान हुने र यहाँ आएका विरामी अन्यत्र जानुपर्ने अवस्था नरहेको बताए ।
अधिकांश हस्टिलमा बच्चा जन्मने बित्तिकै कुनै समस्या आए अर्को हस्पिटल तथा अर्को कोठामा राखेर उपचार गर्नुपर्ने र बच्चाको आमा अर्कैतिर राख्नुपर्ने बाध्यताकाबीच बीएण्डसीमा आमा र बच्चालाई एकै ठाउँमा राखेर उपचार गर्न सकिने व्यवस्था गरिएको हस्पिटल प्रशासनले जनाएको छ । केही दिनभित्रै हस्पिटलले बच्चालाई दिइने विभिन्न खोप सेवासमेत उपलब्ध गराउने जनाइएको छ ।
हस्पिटलका मेनेजिङ डाइरेक्टर डा. प्रसाईंले नेपालमै पहिलोपटक निजी हस्पिटलको क्षेत्रमा बीएण्डसीले निःशुल्क नर्मल डेलिभरी सेवा शुरु गरेको दाबी गरे । बितेको दुई वर्षमा उक्त हस्पिटलमा विभिन्न रोगबाट पीडित ५० हजार महिलाले गाइनो सेवा लिएको बताइएको छ ।
त्यस्तै एक हजार जनाको अपरेशनबाट प्रसुति गराइएको तथा एक हजार पाँच सय बढीको नर्मल डेलिभरी भएको जनाइएको छ । उक्त हस्पिटलमा गाइनो सम्बन्धी सेवा लिन तल्लो पेट दुख्ने, पाठेघर झरेको, ऐजेरु पलाएको, ट्युमर पलाएको महिनावारी गडबडी भएको, बढी रक्तस्राव हुने, बच्चा खेर गएको, पाठेघरको क्यान्सर जस्ता समस्या लिएर बिरामी जाने गरेको डा. सुनिलले बताए ।
बीएण्डसीमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने र उपचार गर्ने प्रविधि समेत रहेकोले पनि सेवाग्राहीको चाप बढीरहेको बताइएको छ । त्यस्तै गर्भवती महिलाको पेटमा रहेको बच्चाको हातखुट्टा तथा अन्य अंगको पूर्ण विकास भए–नभएको हेर्नका लागि अध्याधुनिक प्रविधिको फोरडी अल्ट्रासाउण्ड सेवा उपलब्ध रहेकोले अहिले सजिलो बन्दै गएको बताइन्छ । यो सेवा पूर्वमा नै पहिलो पटक भएको हस्पिटलले जनाएको छ ।
वरिष्ट स्त्री रोग विशेषज्ञ डा. सुनिल चीनबाट एमएस गरेका डाक्टर हुन् । उनले बीएण्डसी आउनुअघि नोबेल हस्पिटल विराटनगर र आम्दा हस्पिटल दमकमा लामो अनुभव समेत सँगालेका छन् । बीएण्डसीमा कार्यरत अर्का वरिष्ट स्त्री रोग विशेषज्ञ हुन् डाक्टर दुर्गा खतिवडा । रसीयाबाट एमएस गरेका उनले नेशनल मेडिकल कलेज विरगञ्ज, काठमाडौंको प्रसुति गृहमा लामो अनुभव सँगालेका छन् ।
त्यस्तै त्यहाँ कार्यरत वरिष्ट स्त्री रोग विशेषज्ञ डा. स्मृति जोशीले काठमाडौं युनिभर्सिटीबाट एमएस गरेकी हुन् । नर्भिक हस्पिटलमा विशेष अनुभव प्राप्त गरेपछि उनी बीएण्डसी आएको बताइएको छ । पाकिस्तानबाट एमएस गरी लामो अनुभव सँगालेकी डा. रुक्सना हक, नेपालगञ्ज मेडिकल कलेजबाट एमएस गरी लामो अनुभव सँगालेकी डा. सीता राई र नोबेल मेडिकल कलेजबाट एमएस गरी सशस्त्र प्रहरी अस्पतालमा विशेष अनुभव हासिल गरेकी डा. प्रियंका कटुवाल पनि अहिले बीएण्डसी टिचिङ हस्पिटलमा कार्यरत छन् ।
छ जना वरिष्ठ स्त्री रोग विशेषज्ञ किन एउटै हस्पिटलमा ? भन्ने पत्रकारको जिज्ञासामा हस्पिटलका प्रबन्ध निर्देशक डा. निराजन भन्छन्– ‘मेडिकल कलेज भएपछि ठूलो टीम चाहिन्छ, सेवाग्राहीको चाप र डाक्टरको सुविधालाई समेत मध्यनजर गरी चौबिसै घण्टा सेवा उपलब्ध गराउनका लागि हामीले छ जना वरिष्ठ स्त्री रोग विशेषज्ञको व्यवस्था गरेका हौं ।’
मेची अञ्चलमा महिलाका विभिन्न रोगको समस्या बढिरहेकोले पनि चिकित्सको संख्या बढाइएको बताइएको छ । बीएण्डसीमा नेपाल रेडक्रस सोसाइटीले छुट्टै रक्तसञ्चार युनिट स्थापना गरेपछि सेवाग्राहीलाई रगत खोज्न अन्यत्र जानुपर्ने समस्या टरेको र जटिल समस्यामा पनि सहज हुँदै गएको हस्पिटलले जनाएको छ ।
वीएण्डसीलाई सबैभन्दा बढी कर दाताको सम्मान
भद्रपुर, मंसीर ७। बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटललाई मेची अञ्चलबाट यस बर्षको सबैभन्दा बढी कर दाखिला गर्ने कर दाताको रुपमा सम्मान गरिएको छ ।
५औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७३को अवसरमा स्वास्थ्य सेवा करतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने वीएण्डसी हस्पिटललाई उक्त सम्मान प्रदान गरिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । हस्पिटलका प्रिन्सिपल डा. उमेशकुमार शर्मालाई समारोहका प्रमुख अतिथि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डे र आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत निर्मल ढकालले मंगलवार भद्रपुरमा आयोजित समारोहमा सम्मान पत्र प्रदान गरेका थिए । करिब दुई बर्षअघि सञ्चालन आएको वीएण्डसी हस्पिटलले अत्याधुनिक प्रविधिसहित स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।
निर्माण व्यवसायी संघमा चार जनाको उम्मेदवार
बिर्तामोड, मंसीर ७। निर्माण व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
शनिअर्जुन–७का मिलन बस्नेत, दमकका गणेश बस्नेत, दीपक खरेल र भद्रपुरका गगन रेग्मीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेको बुझिएको छ । तीन बर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन नभए आज बुधवार निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिने बताइएको छ । आफूलाई अध्यक्षको दावी गर्दै आएका मिलन बस्नेत १८ बर्षदेखि निर्माण व्यवसायमा आवद्ध छन् । उनी मंगलश्री कन्ट्रक्सनका सञ्चालक हुन् । बस्नेतले निर्माण व्यवसाायी संघमा समेत लामो अनुभव संगालेका छन् ।
तीन कार्यकाल जिल्ला कार्य समिति सदस्य, एक कार्यकाल पूर्वाञ्चल क्षेत्रीय सदस्य भएका बस्नेत संघको जिल्ला द्वितीय उपाध्यक्ष समेत भइसकेका छन् । अग्रजहरुको सल्लाह र मार्गदर्शनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउने बस्नेतले संघको संस्थागत विकास र निर्माण व्यवसायीको हकहितमा सशक्त भएर लागीपर्ने समेत बताएका छन् । अग्रज निर्माण व्यवसायीहरु निर्वाचनभन्दा सर्वसम्मत रुपमा नेतृत्व चयनको कसरमा जुटेको बताइएको छ । संघमा दुई सय १६ जना सदस्य रहेका छन् ।
अध्यक्षका उम्मेदवार बस्नेत

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)