Aamsanchar

साप्सुखोलामा मोटरेबल पुल निर्माण सुरु

Author Image
बिहिवार, मंसिर २३, २०७३

खोटाङ ।

jholunge_pule

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको रु दुई करोड ३० लाख ३६ हजारको लागतमा पूरा हुने पक्की पुल बुधबारदेखि निर्माण कार्य सुरु गरिएको हो ।

दिक्तेल नगरपालिका–१० र मात्तिम जोड्ने ३० मिटर लम्बाइ भएको पुल बुधबार एक कार्यक्रमको आयोजना गरी सांसद विशाल भट्टराईले शिलान्यास गर्नुभएपछि निर्माण कार्य सुरु गरिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो ।

“साप्सुखोलाको पक्की पुल १८ महिनाभित्र पूरा हुने सम्झौता भएको छ”, उहाँले भन्नुभयो, “पुल निर्माण भएपछि दिक्तेल–खोटाङबजार सडकमा सहज आवतजावत हुनेछ ।”

शिलान्यासपछि निर्माण कार्य सुरु गरिएको पुल तोकिएकै समय आगामी असार मसान्तभित्र पूरा गर्ने ठेकेदार कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधि श्याम पोखरेलले प्रतिबद्धता जनाउनुभयो । साप्सु र तावा खोलामा पुल बने दिक्तेल–खोटाङबजार सडक सञ्चालनमा आउने यातायात व्यवसायीले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसांसद कुलप्रसाद फुयाँलले आफूले जिम्मा लिएको पुल अलपत्र नपार्न ठेकेदारलाई सुझाव दिनुभयो । “अधिकांश योजना ठेकेदारको लापरबाहीले अलपत्र परेका छन्”, उहाँले भन्नुभयो, “यसमा तपाईंहरुले त्यसो गर्न पाउनुहुन्न ।”

साप्सुखोलामा पक्की पुल बन्ने भएपछि दक्षिणी क्षेत्रका स्थानीय हर्षित भएका छन् । एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा साप्सुखोलापारि ३८ गाविस पर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर