Aamsanchar

दुई मन्दिरमा करारमा पुजारी नियुक्त

Author Image
शुक्रवार, मंसिर २४, २०७३

जुम्ला ।

25082016074254Pashupati-1000x0

झन्डै दुई साताअघि मूर्ति चोरी भएपछि पुजारीविहीन चन्दननाथ र भैरवनाथ मन्दिरमा पुजारी व्यवस्थापन गरिएको छ ।

प्रजिअ रुद्रप्रसाद पण्डितको संयोजकत्वमा बुधबार बसेको बैठकले दुवै मन्दिरका लागि एक एक पुजारी व्यवस्थापन गरेको हो । पुजारी चन्द्रमौलेश्वर गिरीको प्रहरी हिरासतमा अनुसन्धान भइरहेकाले मन्दिरको नित्यकर्म नियमित गर्न करारमा पुजारी नियुक्ति गरिएको प्रजिअ पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार मासिक रु १५ हजार दिने गरी चन्दननाथ मन्दिरको पुजारीमा नवराज अधिकारी रु १० हजार दिनेगरी भैरवनाथ मन्दिरको पुजारीमा ज्ञान गिरीलाई नियुक्त गरिएको हो ।

मन्दिरका बहुमूल्य मूर्ति चोरिएपछि प्रशासनले त्यसको व्यवस्थापन, रेखदेख, तथा संरक्षणमा चासो देखाउँदै गएको छ । गुठी व्यवस्थापन समिति निलम्बित भइसकेकाले दुवै मन्दिरको संरक्षण तथा व्यवस्थापनमा प्रशासन सक्रिय भएको हो ।

मन्दिर सुरक्षाका लागि आधा दर्जन प्रहरी खटाउन जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यसैगरी दुवै मन्दिरको थप कामकाजका लागि लक्ष्मी देवकोटा, विष्णुुकान्त पाण्डे र मयलाल जैसीलाई जिम्मेवारी दिइएको प्रशासनले जनाएको छ ।

दुवै मन्दिरको दैनिक गतिविधिको अभिलेख राख्नाका साथै सिसिटिभी जडान गर्ने र नियमित उज्यालोका लागि सौर्यबत्ती जडान गर्ने निर्णय पनि भएको छ । स्रोत व्यवस्थापनार्थ जिविसलाई रु तीन लाख ५० हजार र चन्दननाथ नगरपालिकालाई रु एक लाख ५० हजार सहयोगका लागि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर