Aamsanchar

पूर्वराजाको ओभरटेक

Author Image
बुधवार, पौष १३, २०७३

[अनिल वाग्ले]
पूर्वराजा ज्ञानेन्द्र शाहले हालै वक्तव्य जारी गरे । उनको वक्तव्य आउनु सामान्य कुरा हो । लोकतन्त्रमा वाक स्वतन्त्रता छ । यही स्वतन्त्रताको प्रयोग उनले गरेका हुन् । गर्न पाउनु पनि पर्छ । लोकतन्त्रमा निषेधको राजनीति भन्ने हुँदैन ।

तर पूर्वराजाको वक्तव्य यस्तो समयमा आयो जुन समयमा देशमा अस्थिरता जारी छ, राजनीतिक दलहरुप्रति जनमानसमा नकारात्मक टिप्पणी छ । पहाड तराई बिच टकरावको अवस्था सृजना गराइरहिएका छन् । धर्मको नाममा राजनीति भईरहेको छ । जातियताको मुद्धालाई उचालेर समाजमा द्धन्द्ध निम्त्याईंदैछ । राजनीतिक दलहरुले आफू पावरमा रहिरहन र आउन ‘प्रभु’ भन्ने गरिएकाहरु सँग गोप्यमा सौदा गरिरहेको अवस्था छ ।

राजतन्त्र अन्त्य भएको लामो समय भयो, यतिन्जेल पूर्वराजा मौन थिए । अव उनी सायदै मौन बस्दैनन् । उनले नेपाली राजनीतिको कमजोरी बुझी सके त्यति मात्र होइन दलका नेताको हैसियत पनि नापी सके । राजनीतिक दलहरुले चुनौतीलाई अवसरमा बदल्न नसक्दाको परिणामलाई पूर्वराजाले प्रयोग गरिरहेका छन् । जुन वेला राजा फाल्न सडकमा उर्लिएका जनता आज एक, दुई, चार को गतिमा राजा राख्न उद्धत भएका छन् । यो एउटा वाध्यता पनि होला, परिर्वतनको पक्षमा भरोसा गरेकाले परिर्वनत सम्भव नगराएपछिको ।

पूर्वराजाको वक्तव्यलाई जनलहर आफ्नो पक्षमा पार्ने वक्तव्यका रुपमा लिन सकिन्छ । उनले भनेका छन्‘ आज हामी जुन माटोमा जन्मिएर र कर्मक्षेत्रमा क्रियाशिल छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पुर्खाहरुको वलिदान, अदम्य साहस र रगतपसिनाबाट आर्जित पवित्र भूमि हो ।

हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पुर्खाहरुले सुम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व एवं कर्तव्य हो ।’

राष्ट्रिय एकता र भावना माथि निर्मम प्रहार भइरहेको छ, उनले पनि यो कुरा बुझे र त्यसैलाई आधार बनाएका हुन् जनलहर आफ्नो पक्षमा पार्न । राजधानी सहित विभिन्न ठाउँमा ‘राजा आउ देश बचाउ’ भन्ने स्वर वाक्लिन थालेको छ । त्यति मात्र होइन पूर्वराजाको पक्षमा रहेका राजनीतिक दलहरुले उनलाई शक्तिमा राखेर हालिमुहाली आफ्नो पक्षमा पार्न पनि उद्धत छन् ।

केही मौन ढंगले लागेका छन् केही खुलेर । यो कुरा जनताले बुझ्न जरुरी छ । जनताकै बलमा यतिका परिर्वतन भए पछिल्ला दशकहरुमा । अव फेरि पुरानो अवस्थामा फर्किने कि यही अवस्थालाई अझ सुधार्ने ? यो प्रश्न जनताले बुझ्न जरुरी छ । राजनीतिक परिर्वतनले मात्र देश विकासको बाटोमा हिँड्दैन रहेछ । राजनेता बलियो र दुरगामी हुनुपर्दछ ।

देशले परिर्वतनको खाका कोरी सक्यो अबको केही दशक यही खाकामा हिँड्नु पर्छ, तव मात्र देश उन्नति तर्फ लम्कन्छ । उन्तति र विकासले परिपूर्ण भए पछि राजनीतिक अस्थिरताको सामना गरिरहनु पर्दैन । जनता सचेत रहन जरुरी छ, अब प्रयोग मात्र भएर हुन्न जनता । उक्साहटको मानसिकता जनताले नै त्याग्नुपर्छ । सही गलत जनताले नै छुट्याउने हो, त्यसलाई ‘दुधका दुध पानीका पानी’ हुने गरी छुट्याउन जरुरी छ, नभए समयले फेरि पछि धकेल्ने छ, जनतालाई नै ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर