Aamsanchar

लोकतन्त्रवादी आदर्श नेता तुर्सा

Author Image
बिहिवार, पौष २१, २०७३

[तीर्थराज खरेल] 

सुरुङ्गा।

15823173_733439003488196_8246398972969713681_n

नेपालमा प्रजातन्त्र स्थापनाका लागि बीपी कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोग्ने झापाली योद्धा हुन्– तुर्सा हेमरम । उनको बुधवार १९औं स्मृति मनाइएको छ ।
झापाको कनकाई नगरपालिका–१ कालीमुडास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानले स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागीले उनको योगदानको बारेमा चर्चा गरेका थिए । त्यस अवसरमा उनलाई लोकतन्त्रवादी आदर्श नेताका रुपमा चित्रण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तुर्साको आदर्श पछ्याउँदा आज मुलुकले व्यहोर्नु परिरहेका सबै समस्या हल हुने बताएका थिए ।
आदिवासी सन्थाल जातिकै भएता पनि तुर्साले प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा रही महत्वपूर्ण योगदान गरेको उनले बताए । उनले हेमरमको जीवनी सबै राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने नागरिकहरुका लागि अनुकरणीय रहेको भन्दै हेमरमले आफ्नो सम्पूर्ण जीवन देश, जनता र लोकतन्त्रका लागि समर्पित गरेको बताए । हेमरम नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कहिल्यै नअस्ताउने उज्ज्वल नक्षत्रको रुपमा रहेकोमा प्रमुख अतिथि कार्कीको जोड थियो ।

कार्कीले सन्थाल जाति लोप हुँदै गएकोमा सबैले चिन्ता र चासो लिनुपर्ने भन्दै सबै आदिवासी तथा जनजातिको भाषा, संस्कृति र परम्पराको संरक्षणको लागि ध्यान दिनु राज्यको कर्तव्य रहेको बताए । हेमरमले सन्थाल जातिका लागि मात्र नभएर समग्र मुलुकका लागि र जनताको सुख र समृद्धिका लागि आफ्नो समस्त जीवन अर्पेको स्मरण गर्दै प्रमुख अतिथि कार्कीले भने– ‘हेमरमलाई वर्षमा एक दुईपटक सम्झेर मात्र हुँदैन, उहाँका आदर्श र सपनालाई सबैले पछ्याउनुपर्छ ।’
कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्धब थापाले लोकतन्त्रप्रति समर्पित आदिवासी नेता तुर्सा हेमरमले नेपाली कांग्रेस, लोकतन्त्र र समग्र मुलुकका लागि गरेको योगदानलाई सम्झन र अनुशरण गर्न आवश्यक रहेको र त्यसो गर्न नसकेमा लोकतन्त्र प्राप्तिको कुनै अर्थ नलाग्ने बताए । सभापति थापाले तुर्साले झापालाई कर्मथलो बनाएर जननायक बीपीका साथमा लागेर लोकतन्त्रका लागि गरेको संघर्षको स्मरण गरे ।
त्यसैगरी नेपाली कांग्रेस झापाका नेता भगीरथ पोद्दारले तुर्सा हेमरम निष्ठा र आदर्शको पर्याय भएको बताए । उनले वर्तमान नेपाली राजनीतिमा निष्ठा र आदर्शप्रतिको बफादारितामा कमी भइरहेकोले प्रजातान्त्रिक समाजवादका सच्चा अनुयायी रहेका तुर्साको जीवनबाट प्रेरणा लिनुपर्ने बताए । सन्थाल विकास समिति झापाका अध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बडाराम हेमरमले २०६८ सालको जनगणना अनुसार नेपालमा सन्थालको जनसंख्या ५१ हजार ७ सय ३४ रहेको र जनसंख्या अनुसार सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताए । नेपाल महिला संघ झापाकी सभापति सुशीला ढकालले तुर्सालाई सम्झन र उनको आदर्शलाई पछ्याउन सबैसँग अपिल गरिन् ।
को हुन् तुर्सा हेमरम ?
वि.स. १९८०मा जन्मेका तुर्सा हेमरमले बीपी कोइरालाको निकटमा रही प्रजातान्त्रिक आन्दोलनमा अगुवा सेनानीको रुपमा काम गरेका थिए । हेमरमलाई प्रशिद्ध समाजवादी चिन्तक सीके प्रसाईंले समेत राजनीतिका गुरु मान्ने गरेका थिए । हेमरमले २००६ सालमा बीपीलाई भेटेका थिए ।
राणाशासन विरोधी सशस्त्र संघर्ष र त्यसपछिका २०१४ सालको भद्र अवज्ञा, २०१५ सालको आम चुनाव र तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र हरण गरेपछि पनि नेपाली कांग्रेसको छातामुनि हेमरम क्रियाशील रहे । प्रजातन्त्र अपहरणपछि उनले पञ्चायती शासकहरुको ठूलो यातना सहनुपरेको थियो ।

उनले जतिसुकै दमन, अन्याय र जेलको यातना भए पनि लोकतन्त्रप्रतिको निष्ठालाई कहिल्यै त्यागेनन् । २०४९ साल फागुन ३ गतेदेखि झापाको कलबलगुडीमा शुरु भएको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले नपढेको आदिवासीको छोरा भएर पनि तुर्सा हेमरमले लोकतन्त्र, नेपाली कांगे्रस र मुलुकको लागि ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए ।
स्व. हेमरम निष्ठावान, इमान्दार प्रजातन्त्रका सेनानी थिए । प्रजातन्त्र प्राप्तिका लागि जीवनभर संघर्ष गर्ने अथक योद्धा थिए । उनका समकालीनहरुले स्मरण गरेका छन्– जेलमा यातना दिँदा उनी भन्थे, ‘म माफी माग्दिन, म जनताको मान्छे हुँ, तिमी सेना, पुलिस र कर्मचारी त जनताका कारिन्दा हौ, तिमीहरु मलाई किन कुट्छौ ?’ प्रजातान्त्रिक आन्दोलनमा उनी आफू मात्र सरिक भएनन्, खेती र किसानीमा मात्र भर पर्ने र शिक्षा, राजनीतिबाट टाढा रहेका सन्थाल जातिलाई पनि संगठनमा आबद्ध गराएका थिए ।
नेपाली कांग्रेस भन्दा डराउनुपर्ने पञ्चायती व्यवस्थाको कालरात्रीमा सन्थालहरुले प्रजातन्त्रप्रति देखाएको समर्थनका कारण धेरै सन्थालहरु पञ्चायतको दमनको शिकार हुनुप¥यो भने तराई÷मधेशमा औलोसँग लडाइँ गर्दै जमिन आवाद गरेर बसेका उनीहरुको जोताहा खोसियो र जमिनबाट वेदखल गरियो । शासक र सामन्तको दोहोरो चपेटामा सन्थालहरु परेका थिए । तुर्साले प्रजातन्त्र र जनताका लागि दिन मात्र चाहेका र व्यक्तिगत लाभ लिन कहिल्यै नचाहेको कांग्रेसका पुराना नेताहरु बताउँछन् ।

हेमरमका शरीरमा यातनाका चोटका दागैदाग रहेका थिए । उनले कहिल्यै पनि लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा उभिएर पीडा र यातना भोग्नु परेकोमा पश्चाताप नगरेको उनलाई चिन्ने कांग्रेसीजनको भनाइ छ । प्रजातन्त्रको पुनःस्थापनापछि पनि उनको घरको चुल्होमा आगो बलेन । नेपाली कांग्रेसले उनका लागि केही जग्गा र केही पैसाको व्यवस्था गरेकाले त्यसैको भरमा उनले गुजारा चलाएका थिए । २०५४ साल पुस २० गते तुर्साको देहान्त भएको थियो ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठान के गर्दैछ ?
निर्माणाधीन कनकाई नगरपालिकाको कार्यालय छेउ रहेको प्रतिष्ठानको जग्गामा सञ्चालनमा आउन लागेको ऐतिहासिक संग्रहालय तथा सामुदायिक सभाहलका लागि पार्टी तथा सरकारका तर्फवाट सक्दो सहयोग हुनुपर्ने कांग्रेसका कार्यकर्ताको माग छ ।
प्रतिष्ठानको सभा हलसहितको सामुदायिक भवन निर्माण गर्न स्थानीय समाजसेवीहरु मातृकाप्रसाद सिटौला, उमाप्रसाद सिटौला र दिलीप ओलीले साढे ३ कठ्ठा जग्गा प्रदान गरेका छन् । नेपाली कांग्रेस झापाका सबै नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा नेपाल सरकार र स्थानीय संघसंसस्था सबैको सकारात्मक पहल हुने हो भने तुर्सा हेमरमको शालिकसहित योजनामा परेका सबै पूर्वाधार निर्माण गर्न सकिने प्रतिष्ठानका सहसचिव भीम राजवंशीको भनाइ छ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ क्षेत्र नंं. २को पहलमा तुर्साको शालिक निर्माण गर्न खर्चको व्यवस्थापन भइरहेको बुझिएको छ ।
स्मृति दिवसमा खेल तथा नृत्य
उक्त अवसरमा सन्थाल जातिको मुख्य खेल धनुषकाँड प्रतियोगिताको आयोजना गरिएको थियो । प्रमुख अतिथि नेकाका केन्द्रीय सदस्य कार्कीले धनुषकाँड हानेर खेलको उद्घाटन गरेका थिए । धनुष तीर प्रतियोगितामा धरमपुरका जुनीराम सोरेन पहिलो, शिवसताक्षीका धना किस्कू दोस्रो, कनकाई–८का सोम हस्दा तेस्रो र कनकाई–७ का बुधराई मुर्मू सान्त्वना भएका थिए ।
कार्यक्रममा संथाल जातिको संस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरिएको खेल संयोजक धनपति चुडालले जानकारी दिए । स्मृतिसभामा नेपाली कांग्रेस जिल्ला उपसभापति राम कट्टेल, सचिवद्वय प्रेम सम्बाहाम्फे र लक्ष्मण खड्का, पुराना कांग्रेस नेताहरु टुंगबहादुर बस्नेत र रामबहादुर बस्नेत, झापा जिल्ला पूर्व उपसभापति देउकुमार थेबे, जिल्ला सदस्य गोपाल उप्रेती, कनकाई नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्की, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, महिला नेतृहरु गोमा भट्टराई, सीता पौडेल, सुन्दरा ल्वागुन लगायतको आतिथ्य रहेको थियो । प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्व, उपाध्यक्ष टीकादेवी मैनालीको स्वागत मन्तव्य र सचिव रमेश श्रेष्ठको सञ्चालनमा कार्यक्रममा भएको थियो ।
यसैगरी छेलो तर्फ श्रीलाल मुर्मू पहिलो, संजय हस्दा दोस्रो र सुनिल सोरेन तेस्रो भएका छन् । नृत्य तर्फ सोरेन इपिल डान्स ग्रुप बिर्तामोड प्रथम, होपना क्लव सुरुङ्गा दोस्रो र न्यूस्टार ग्रुप बिर्तामोड तेस्रो भएका थिए ।
यता म्युजिकल चेयर तर्फ विना मण्डी पहिलो, सुन्दरा ल्वागुन दोस्रो र पार्वता गिरी तेस्रो भए । लमजम तर्फ सञ्जय हस्दा पहिलो, श्रीलाल मुर्मू दोस्रो र सुनिल हास्दा तेस्रो भए । त्यस्तै हण्डि फोर्ने तर्फ मदन सोरेन विजयी भएको संस्थाका सचिव रमेश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 505

प्रतिक्रिया (०)

सम्बन्धित खबर