Aamsanchar

बौद्धमोड कृषि पर्यटन महोत्सवको तयारी पूरा

Author Image
बुधवार, माघ १२, २०७३

झापा,
झापाको पूर्वोत्तर गाविस बाहुण्डाँगीमा आयोजना हुने आठौं बौद्धमोड कृषि पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
बाहुण्डाँगी मूल कृषक समूह र ल्होछार समिति बाहुण्डाँगीको संयुक्त आयोजनामा गाविसको वडा नम्बर ४ स्थित बौद्धमोड बजारमा आउँदो शुक्रबार र शनिबार सो महोत्सव हुने भएको हो ।
आयोजक समूहका अध्यक्ष पूर्णबहादूर खड्काका अनुसार दुई दिवशिय उक्त महोत्सवमा कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु खाद्यान्नवाली, तरकारीबाली, दलहन, तेलहन बाली, मसलाबाली र पुष्पबालीका स्टल राखिने छ ।
महोत्सवमा उत्कृष्ट उत्पादक, उत्कृष्ट कृषक र कृषि उपज कारोबार गर्ने उत्कृष्ट ब्यवसायीलाई सम्मान एवँ पुरस्कृत गरिने समूहका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
‘रोजगारीका लागि ब्यवसायीक उत्पादन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवका क्रममा कृषि तथा पशु सेवा सम्बन्धि निशुल्क प्राविधिक परामर्श सेवा समेत प्रदान गरिने बताइएको छ ।
त्यस्तै महोत्सवमा विभिन्न जातजातीका जातीय पहिचान झल्काउने प्रतियोगितात्मक साँस्कृतिक नृत्य एवँ मनोरञ्जनात्मक विविध कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।
उक्त महोत्सवको सह आयोजकहरुमा जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, कृषि सेवा केन्द्र चारआली, कृषि उपज बजार समिति विर्तामोड, बौद्धमोड कृषि सहकारी संस्था बाहुण्डाँगी, सिद्धिखोला जल उपभोक्ता समिति बाहुण्डाँगी, आई.पि.एम. समाज झापा र मेची साउण्ड सिस्टम बाहुण्डाँगी रहेका छन् ।

Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढी भाडा लिने इभीलाई कारबाही
बिहिवार, वैशाख १०, २०८३
लाइसेन्स वितरण धमाधम
बिहिवार, वैशाख १०, २०८३