Aamsanchar

महिनावारीको यस्तो दुखाइमा गम्भीर हुनुहोस्

Author Image
शुक्रवार, चैत ४, २०७३

महिलामा महिनावारी प्राकृतिक प्रक्रिया हो । यो समयमा तल्लो पेट सामान्य दुख्नु पनि स्वाभाविक हो । विशेषगरी अविवाहितालाई पेट दुख्ने समस्या बढी हुन्छ । तर, महिनावारीमा खप्नै नसक्ने गरी पेट दुख्यो भने स्वाभाविक ठानेर आलटाल गर्नु गल्ती हुन सक्छ । महिनावारीको कस्तो दुखाइ गम्भीर हो त ? डा. चन्दा कार्की भन्छिन्ः

महिनावारी हुँदा दैनिक काम र प्रक्रियामै असर पर्ने गरी पेट दुख्छ, रातभर निद्रा लाग्दैन भने यसलाई गम्भीर अवस्था ठान्नुपर्छ । सामान्य प्रक्रियाबाहेक केही जटिल परिस्थिति हुँदा यस्तो दुखाइ हुन्छ । दुखाइ कम गर्न महिलाले पेनकिलर खाने गरेको पाइन्छ । तर, यो समस्याको दीर्घकालीन समाधान होइन ।

अविवाहित युवतीमा महिनावारीको समयमा खप्नै नसक्ने गरी पेट दुख्ने एउटा खास कारण पाठेघरको मुख सानो हुनु हो । महिनावारी हुँदा रगत निस्किने वेला पाठेघर खुम्चिन्छ । पाठेघर खाली अंग भएकाले खुम्चिएर रगत बाहिर निस्किन ठूलै दबाब परिरहेको हुन्छ ।

महिनावारी हुँदा पाठेघरबाट बाहिरिने रगत जमेको हुन्छ । जमेको रगत बाहिर निस्किन असहज हुने भएकाले पनि बढी दुख्छ । अझ ती युवतीलाई पीडा बढी हुन्छ, जसको पाठेघरको मुख सानो हुन्छ । यस्ता युवतीको दुखाइ समस्यालाई सामान्य मान्नु हुँदैन ।

विवाहिता महिलामा महिनावारी हुँदा दुखाइ कम हुनुको कारण पाठेघरको मुख ठूलो हुने भएर नै हो । तर, विवाहितामा पनि महिनावारीमा पेट दुख्ने समस्या नहुने नै भने होइन । यस्ता महिलामा खप्नै नसक्ने गरी पेट दुख्नु झन् जटिल मानिन्छ । पाठेघरमा निम्तिने अन्य जटिल समस्याले पेट दुखाएको हुन सक्छ । पाठेघरमा विभिन्न संक्रमण भएर दुखाइ हुन्छ । कतिपयमा मासु पलाएको हुन्छ ।

विवाहिता र अविवाहिता दुवैले खप्नै नसक्ने पेट दुखाइको अवस्थामा सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । दुखाइ कम गर्ने औषधि खानु तत्कालका लागि मात्रै राहत हो, दीर्घकालीन समाधान होइन । बरु दुखाइ कम गर्ने औषधि धेरै सेवन गर्‍यो भने अन्य साइडइफेक्ट हुन सक्छ । दुखाइमा तत्काल राहतका लागि मनतातो पानीले सेक्ने, नुहाउने गर्न सकिन्छ । र, दीर्घकालीन समस्याका लागि अवस्था हेरेर उपचार गर्नुपर्छ । अविवाहितालाई पाठेघरको मुख सानो भएर दुखेको हो भने सामान्य अप्रेसन गरेर पाठेघरको मुख खोल्नुपर्ने हुन्छ । मासु पलाएर तथा अन्य कारणले दुखेकाहरूलाई आवश्यकताअनुसार उपचार गरिन्छ ।

युवावस्थादेखि नै कतिपय कुरामा सचेत रहने हो भने महिलाले जीवनभर पेटदुखाइ तथा पाठेघरमा निम्तिने विभिन्न समस्याबाट टाढै रहन पाउँछन् । उचित खानपान र नियमित कसरत गर्नेलाई यस्ता समस्या आउँदैन । जंकफुड त्याग्न सक्नुपर्छ ।

नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर