Aamsanchar

हात्तीपाइले नियन्त्रणको प्रयास दमकमा असफल

Author Image
सोमवार, चैत १४, २०७३

दमक।

हात्तीपाइले रोग निवारणका लागि झापामा भइरहेको प्रयास दमकमा असफल भएको पाइएको छ ।  हात्तीपाइले रोगबिरुद्धको अभियान अन्तर्गत चलाइएको राष्ट्रिय अभियानमा बुज्रुक र पढेलेखेकाहरुले नै गलत धारणा बनाएका कारण दमकमा ४१ प्रतिशतले मात्र औषधि सेवन गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका शाखा अधिकृत देवराज कार्कीले बताए ।

चैत १३ गतेदेखि १९ गतेसम्म हात्तीपाइलो रोगबिरुद्धको राष्ट्रिय अभियान अन्तर्गत झापा जिल्लामा ७ लाखभन्दा बढीलाई औषधि ख्वाउने कार्यक्रमको तयारी गरिएको छ ।
झापामा ७३ दशमलव ५ प्रतिशतले अघिल्ला अभियानहरुमा हात्तीपाइलेबिरुद्धको औषधि सेवन गरेकोमा दमक नगरपालिकामा ४१ प्रतिशत भएको बताउँदै यो क्षेत्र हात्तीपाइलेको उच्च जोखिममा रहेकाले सबैलाई औषधि ख्वाउनु पर्ने चुनौति रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर बेदप्रसाद घिमिरेले बताए । उनका अनुसार यस बर्ष दमकमा मात्र धेरै शक्ति प्रयोग गरिने तयारी भएको छ ।
दमक अस्पतालका डा. बिपीन पाण्डेका अनुसार दमक अस्पतालले सबैको घरघरमा पुगेर औषधि ख्वाउनका लागि ३ सय स्वयम्सेवक परिचालन गर्नेछ । एउटा स्वयम्सेवकले ५० घरपरिवारलाइ ३ दिनको अवधिमा औषधि ख्वाउने गरी ब्यवस्था मिलाइएको उनले जानकारी दिए । गलत धारणाका कारण औषधि सेवनमा चासो नदिएको पाइएकोले सरोकारवाला निकायहरुसँग समन्वय गरेर जनचेतना अभियानलाई समेत अघि बढाइने उनले जानकारी दिए ।
डा. क्षमता घिमिरेका अनुसार हात्तीपाइले रोगको औषधि डाइथाइलकार्वामाजिन चक्की अन्य कतिपय रोगमा पनि सिफारीस हुने गरेको बताउँदै यो औषधिले कुनै पनि असर नगर्ने भएकाले औषधि सेवनका लागि योग्य मानिएका सबै उमेर समूहका मानिसहरुले सेवन गर्नुपर्ने बताइन् । बिरामी, ज्येष्ठ नागरिक, २ बर्षमुनिका बालबच्चा, भर्खरका सुत्केरी महिला लगायतका बाहेकले औषधि खाँदा यसले कुनै पनि असर नगर्ने भएकाले नडराउन उनले आग्रह गरिन् ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानेबुझेकाहरुले नै औषधि खान नमानेका कारण र दमकको मुख्य बजारभन्दा खोल्साखोल्सी, खोला किनार र ग्रामीण क्षेत्रमा बसोबास बढिरहेको भएकाले त्यहाँ औषधि लिएर नपुग्दा ४१ प्रतिशतले मात्र सेवन गरेको हुनसक्ने बताए । यो बर्ष दमक नगरपालिकाले यसलाई बढाएर अन्य नगरपालिकाकाहरुको भन्दा बढी औषधि सेवनको अवस्थामा पुर्याउन लागीपर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
दमक अस्पतालका निमित्त प्रमुख लीला गुरागाँईले दमकजस्तो सचेत नगरपालिकामा औषधि सेवनको मात्रा कम हुनु अस्वभाविक भएकाले यसबर्ष यस्तो हुन नदिन आफूहरु लाग्ने बताए ।
औषधि सेवनबाट कुनै समस्या भएमा निःशुल्क उपचारको ब्यवस्था समेत मिलाइएको बताउँदै उनले यो अवसर भएकाले औषधि सेवन गर्नका लागि गुरागाईले आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर