Aamsanchar

वनमारा फाँडेर अलैँची खेती

Author Image
बिहिवार, वैशाख १४, २०७४

पर्वत ।

दक्षिण पर्वतको भोक्सिङमा वनमारा फाँडेर जङ्गलभरि अलैँचीखेती विस्तार गरिएको छ । अलैँचीखेतीका लागि उपयुक्त हावापानी, मनग्य आम्दानी गर्न सकिने तथा एकपटक रोपेपछि दुई दशकसम्म उत्पादन लिन सकिने भएकाले यहाँका बासिन्दाले वनमारा फाँडेर अलैँचीखेती सुरु गरेका हुन् ।

स्थानीयवासीले रु दुई करोडको लागतमा दुई वर्षदेखि अलैँचीखेती गर्न थालेका हुन् । खेर गएको जमिनको उपयोग गरी आय आर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामूहिक फार्म खोलेर व्यावसायिक खेतीको सुरुवात गरेका हुन् । उनीहरुले भोक्सिङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूह स्थापना गरी एक हजार ५०० रोपनी क्षेत्रफलमा एक लाख अलैँचीका बिरुवा रोपेका छन् । अहिले अलैँचीले फल दिन सुरु गरेको छ ।

बजारमा अहिले अलैँचीको मूल्य प्रतिमन रु ५० हजार रहेको छ । प्रशस्त आम्दानी गर्न सकिने भएपछि यहाँका बासिन्दा जङ्गलमा लगानी गर्न थालेका छन् । सुरुमा स्थानीय ३० जना कृषकले खेती सुरु गरेका हुन् । क्षेत्रफल बढाएर दुई हजार रोपनी पु¥याउने उनीहरुको लक्ष्य छ ।

लामो समय बेलायती र भारतीय सेनामा कार्य गरेर सेवानिवृत भएर फर्किएकाहरु अलैँची खेतीमा लागेका समुहका अध्यक्ष विरजङ्ग गुरुङले बताउनुभयो । उहाँ लमजुङ पश्गाउँबाट अलैँची खेती गर्न भोक्सिङ आउनुभएको हो । यस वर्ष उहाँले दुई क्विन्टल अलैँची उत्पादन गर्नुभएको छ ।

गाउँ छाडेर सहर जाने लहर चलेका कारण खाली भएको पाखो र बाँझो जग्गाको उपयोग गरेर फार्म सञ्चालन गरिएको समूहका सदस्य नारायण गुरुङ बताउनुहुन्छ । उनीहरुले प्रतिव्यक्ति रु पाँच लाख लगानी गरेर अलैँची खेती सुरु गरेका हुन् । “अहिलेसम्म रु दुई करोडसम्म लगानी गरिसकेका छौँ,” गुरुङले भन्नुभयोे ।

यस वर्ष उनीहरुले एक लाख बिरुवा रोप्ने गरी जग्गाको तयारी गरेका छन् । नर्सरीमा बिरुवा समेत उत्पादन गरिएको छ । कृषकको उत्साह देखेर आर्थिक तथा प्राविधिक सहयोग गरेको जिल्ला कृषि कार्यालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सुरु भएको जिल्लामा उक्त क्षेत्रलाई अलैँचीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर