Aamsanchar

चिया प्रशोधन सुरु

Author Image
बिहिवार, वैशाख १४, २०७४

इलाम ।

चियाको प्रशोधन सुरु भएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा चिया पु¥याउन टिपेर प्रशोधन थालिएको हो ।

यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । अघिल्लो वर्ष चैत अन्तिमबाट मात्रै पत्ती टिपाइ सुरु भए पनि यस वर्ष चैतको दोस्रो साताबाटै चिया टिपाइ सुरु भएपछि प्रशोधनको काम चाँडै सुरु भएको हो ।

उत्पादनको पहिलो याम चिया गुणस्तरका हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भए पनि फस्टफ्लस चियाको मूल्य उच्च हुन्छ । कारखानाले थोरै हरियो पत्ती भए पनि प्रशोधन गर्ने गरेका छन् । “जसले गुणस्तरीय चिया पहिला पु¥याउँछ उसको चियाले बजार पाउँछ,” पाथीभरा चिया सहकारी संस्थाका मोती दाहालले भन्नुभयो ।

जिल्लाका केही कारखानाले मूल्य निर्धारण गरेका छन् भने केहीले अझै पनि मूल्य निर्धारण गर्न सकेका छैनन् । फाकफोकस्थित तीनजुरे चिया सहकारी संस्थाले आफ्नो कारखानामा पत्ती प्रशोधन गर्ने किसानलाई प्रतिकिलो हरियोपत्तीको मूल्य रु ७० दिने गरेको कारखानाका व्यवस्थापक सोम शर्माले बताउनुभयो ।

नेपाली चियाको सबैभन्दा ठूलो बजार पश्चिम बङ्गालको कोलकाता हो । भारतको चिया कोलकाता अक्सन मार्केटमा छिट्टै पुग्ने हुँदा नेपाली चियाले बजाउन पाउन समस्या हुने गरेको चिया व्यवसायीको गुनासो छ । “यहाँ कृषकबाट पत्ति खरिद गर्नुपर्छ तर सीमापारि बगान र कारखाना एकै जनाको स्वामित्वमा हुने गरेको गरेकाले उत्पादन बिक्री गर्न सहज हुन्छ,” केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले भन्नुभयो ।

भारतले चियामा सिएफएल (सेन्टर फुड लेब्रेटोरी) प्रणाली लागू गरेपछि नेपाली चिया व्यवासायी झन मारमा परेका छन् । नेपाली चिया एकपटक सिएफएल प्रमाणित गर्न ६८ हजार भारतीय रूपैयाँ तिर्नु पर्छ । मासिक नवीकरणको १८ हजार भारतीय रूपैयाँ छुट्टै लाग्छ । सिएफएल प्रमाणित गर्नुपर्ने झमेलाका कारण नेपाली चिया व्यवसायी समस्यामा परेका हुन् ।

नेपाल सरकार खाद्य विभागले गरेको प्रमाणित चियालाई भारतले मान्यता नदिँदा नेपाली चिया भारत बिक्री गर्न समस्या छ । नेपालबाट तेस्रो मुलुकमा चिया निकासी गर्न भने समस्या छैन । नेपाली चियाको ७० प्रतिशत बजार भारत हो ।

अर्थोडक्स चिया उत्पादनका लागि अगाडि रहेको इलाममा वार्षिक ४० लाख किलो तयारी चिया उत्पादन गर्ने गरेका चिया तथा कफी विकास बोर्डले जनाएको छ । जिल्लामा २४ वटा ठूला तथा ४२ वटा साना चिया कारखाना सञ्चालित छन् । यहाँका करिब १० हजारभन्दा बढी किसानले कारखानालाई चियापत्ती बिक्री गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर