Aamsanchar

नीति अभावमा चिया व्यवसायी मारमा

Author Image
शुक्रवार, वैशाख १५, २०७४

काठमाडौँ ।

चियाको विकासका लागि छुट्टै नीति आवश्यक भएकामा जोड दिइएको छ । बीसौँ राष्ट्रिय चिया दिवसमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यहाँ आज आयोजना गरेको कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले चिया नीति आवश्यक भएको बताउँदै नीति अभावमा चिया व्यवसायीले सहुलियत नपाएको उल्लेख गर्नुभयो ।

कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोखरेलले चियाको विकासका लागि लगानी गर्न सरकार तयार रहेको बताउनुभयो । कार्यक्रममा यस वर्षको उत्कृष्ट चिया कृषक पुरस्कार नुवाकोटका जगतबहादुर तामाङलाई दिइएको छ । पुरस्कारबापत तामाङलाई रु पाँच हजार दिइएको थियो ।

यस्तै उत्कृष्ट अर्थोडक्स चिया निर्यात पुरस्कार इलामस्थित हिमालय साङ्ग्रिला चिया उत्पादक कम्पनीलाई प्रदान गरिएको छ । सो कंले गत आवमा २६ हजार ३१२ केजी अर्थोडक्स चिया निर्यात गरेको थियो । यसैगरी उत्कृष्ट सिटिसी चिया निर्यातको पुरस्कार झापाको भद्रपुरस्थित पराजुली चिया उद्योगलाई प्रदान गरिएको छ । उक्त उद्योगले सोही अवधिमा १४ लाख २७ हजार केजी चिया निर्यात गरेको थियो ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले आव २०७२÷७३ मा १३ हजार २८९ मेट्रिक टन चिया विभिन्न देशमा निर्यात गर्दै रु दुई अर्ब ४० लाख आर्जन गरिएको जानकारी गराउनुभयो । विसं १९२० देखि नेपालमा व्यावसायिक रुपमा चियाखेतीको सुरुआत भएको हो । अहिलेझापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, कास्की, लमजुङ, ललितपुर, दोलखा, रामेछापलगायत २४ जिल्लामा २७ हजार छ सय ८८ हेक्टर क्षेत्रफलमा चियाखेती भइरहेको छ । चिया उद्योगमा अहिले ६० हजार मानिसले रोजगार पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर