Aamsanchar

पोस्ट हार्भेस्ट भवनको शिलान्यास

Author Image
शनिवार, वैशाख २३, २०७४

भद्रपुर ।

झापाको पथरियामा पोस्ट हार्भेस्ट(बाली उत्पादनपछिको काम) भवनको शुक्रबार शिलान्यास गरिएको छ ।  उत्पादनपछि गरिने सबै कार्यका लागि निर्माण हुने सो भवनका लागि परियोजनाले रु ५० लाख तथा साना किसान सहकारी संस्था लि कचनकल गाउँपालिका–२ ले एक बिघा तीन कट्ठा जग्गा उपलब्ध गराएका छन् ।

यस्तै पोस्ट हार्भेस्ट अमरावती कृषि सहकारी संस्थामा पनि निर्माण हुने र छ । सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक अच्युतप्रसाद ढकालले स्वदेशी पुँजी र सीपबाट तयार गरिएको सो अवधारणाबाट नेपाललाई केही समयपछि नै खाद्यान्नमा आत्मनिर्भर बनाइने बताउनुभयो । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले कृषिसँगै सिँचाइ पनि अघि बढ्ने जानकारी दिनुभयो ।

सुपरजोन कार्यालय बनियानीका प्रमुख मेघनाथ तिमल्सेनाले धानका लागि झापाका दक्षिणी क्षेत्र कचनकवल गाउँपालिकामा जोडिएका छ वटा गाविसमा एक हजार हेक्टर जग्गामा सुपरजोन घोषित भएअनुसार परियोजनाले धानका क्षेत्रमा निकै उत्साहजनक कार्यमा कृषकको सहभागिता बढिरहेको बताउनुभयो ।

सो अवसरमा सुपरजोनबाट प्रदान गरिएको खेत जोत्ने दुई थान पावर टेलर पनि सहकारीलाई हस्तान्तरण गरिएको थियो । प्रयोगशालाका निम्ति परियोजनाले रु ३३ लाख उपलब्ध गराएको छ । सानो सिँचाइ आयोजनाबाट प्रदान गरिएको बोरिङमा रु ६० हजार लागत लागेको छ । यस्तै ३० बोरिङ किसानको खेतमा गाडिने छ ।

यसैगरी कर्मा ग्रुपले कचनकवल गाउँपालिकाअन्तर्गत पथरियामा छ बिघा खेत भाडामा लिएर सुरु गरिएको बीउ उत्पादनका लागि लगाइएको धानखेतको परियोजनाका निर्देशक ढकालले निरीक्षण एवम् अवलोकन गर्नुभयो । एफ वन नामक बीउ उत्पादन हुने र सो बीउबाट एक हेक्टर जग्गामा नौ मेट्रिक टन धान फल्ने कर्मा ग्रुपका कर्मचारी सूर्यनारायण साहले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर