Aamsanchar

तरकारी गाईबस्तुलाई खोले

Author Image
बिहिवार, वैशाख २८, २०७४

झापा  ।

लखनपुर–४ देखि दमक बजार र गौरादह बजार करिब छ÷छ किलोमिटरको दूरीमा पर्छ । ती दुवै बजारमा काँक्रा प्रतिकिलो रु ४० मा बिक्री हुन्छ । यस्तै खुर्सानी प्रतिकिलो रु ८० मा बिक्री हुन्छ । तर, लखनपुर–४ मदनटोलका किसान काँक्रा प्रतिकिलो रु १० र खुर्सानी रु ३० मा समेत बिक्री गर्न नसकेपछि समस्यामा छन् ।

बेमौसमी तरकारीखेतीमा लागेका यहाँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन सकेको छैन । उचित मूल्य नपाएपछि उत्पादन गरेको तरकारी गाईबस्तुलाई खोले बनाएर खुवाउन बाध्य भएका स्थानीय कृषक मदन आचार्यले बताउनुभयो ।

“बजारमा लगेर तरकारी बेच्नै मुस्किल भएको छ, घरमै बेचौँ भने बिचौलियाले आधा मूल्य पनि दिँदैनन्,” उहाँले भन्नुभयो । काँक्रा र खुर्सानी मात्र होइन गोलभेँडा, फर्सी, बोडी, करेला, सिमी, बन्दागोभी, काउली, रायोको साग, पालुङ्गोको साग, धनिया, गाँजर, मूलालगायत तरकारी बिक्री गर्न समस्या भएको छ । उचित मूल्य नपाएपछि किसानले तरकारी गाईबस्तुलाई खोले बनाएर खुवाउन बाध्य भएका हुन् ।

स्थानीय कृषक दामोदर गुरागाईंका अनुसार स्वरोजगार बन्न ऋण खोजेर व्यावसायिक तरकारीखेतीमा लागेका यहाँका किसान अहिले ब्याज तिर्न नसकेर समस्यामा छन् । यहाँका युवा विदेशबाट फर्किएपछि तरकारीखेतीमा लागेका छन् । “आम्दानीको मुख्य स्रोत नै बेमौसमी तरकारी हो, त्यही तरकारी नबिकेर चिन्तित भएका छौँ,” स्थानी कृषक राजु बरालले भन्नुभयो ।

लागतसम्म उठाउन नसकेपछि यहाँका किसान मारमा परेका छन् । “व्यापारी आफैँ आएर छानेर तरकारी टिप्छन् र आफैँ मोलमोलाई गर्छन्,” स्थानीय कृषक भानु सुवेदीले भन्नुभयो– “व्यापारीले भनेकै मूल्यमा बिक्री गर्न बाध्य भएका छौँ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर