Aamsanchar

हरियो पत्तीको उत्पादन वृद्धि

Author Image
शुक्रवार, वैशाख २९, २०७४

इलाम।

मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ ।

गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि यस वर्ष भने उत्पादन दोब्बर भएको छ । यतिबेलाको हरियोपत्ती गुणस्तरिय हुने कृषक बताउछन् । गत वर्ष सिँचाइ अभाव भएका ठाउँमा फस्ट फ्लस उत्पादन चैत अन्तिम सातामात्रै भएको थियो । यस वर्ष चैत सुरूमै चियाले उत्पादन दिन थालेकाले परिमाण पनि बढेको छ ।

सदरमुकामस्थित इलाम चिया बगानमा यस वर्ष पहिलो टिपाइमै १० हजार किलो हरियोेपत्ती उत्पादन भएको कारखानाकी इन्दिरा गुरूङले बताउनुभयो । कारखानाले दैनिक दुई सय ५० किलोभन्दा बढी हरियोपत्ती प्रशोधन गर्दै आएको छ ।

माइपोखरीस्थित माइपोखरी चिया प्रशोधन कारखानामा पनि यस वर्ष कारखानाले प्रशोधन गर्न नभ्याउने गरी हरियोपत्ती आएको कारखाना सञ्चालक शरद सुव्वाले बताउनुभयो । उच्च गुणस्तरको अग्र्यानिक चिया उत्पादन बढेकाले कारखानाले सङ्कलन भएको हरियोपत्ती नजिकैको अर्काे कारखाना पठाइरहेको जनाएको छ ।

फाकफोकस्थित तीनजुरे चिया सहकारी संस्थामा पनि यसपटक हरियोपत्ती उत्पादन बढेको छ । “गत वर्षभन्दा यस वर्ष ४५ प्रतिशत भन्दा बढी उत्पादन छ,” कारखानामा कार्यरत शरद शर्माले भन्नुभयो । सहकारीले आफैंँ कारखाना स्थापना गरेर पत्ती प्रशोधन गरिरहेको छ । यहाँ तयार भएको तयारी चिया जर्मनी, अमेरिका, जापानसम्म निकासी हुने गरेको छ । कारखानाले प्रतिकिलो रु ७० सम्ममा किसानबाट हरियोपत्ती खरिद गर्दै आएको संस्थाका व्यवस्थापक सोमनाथ शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर