Aamsanchar

चिया बगानमा मजदुर अभाव

Author Image
शनिवार, वैशाख ३०, २०७४

इलाम ।

पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ ।

कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । तर पछिल्लो समय चिया बगानमा काम गर्ने मान्छे भेटिन छाडेका छन् ।

चियामा मात्रै होइन अन्य खेतीबारीमा पनि कामदारको अभाव छ । उचित पारिश्रमिक नपाएपछि मजदुरले चियाको पत्ती टिप्न छाडेका हुन् । बढ्दो चिया बगान र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढ्दा कृषि क्षेत्रमा काम गर्ने श्रमिक पाउन छाडेको छ ।

जिल्लाका पूर्वी भेगमा घर÷घरमा चिया बगान हुनथालेपछि श्रमिकको अभाव भएको छ । “बस्ने, खाने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन,” कन्यामका काजीमान कागतेले भन्नुभयो – “बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटेको छ ।”

चिया रोप्नेदेखि टिप्ने र काँटछाटका लागि पर्याप्त जनशक्ति आवश्यक हुन्छ । वैशाखयता जिल्लामा दैनिक एक लाख किलो हरियो चियापत्ती उत्पादन भइरहेको छ । चिया किसानले यतिबेला आकर्षक पारिश्रमिकसहित कामदार खोजिरहेका छन् । अन्तुका इन्द्रबहादुर दर्लामी आफ्नै बगानमा दिनभर पत्ती टिप्नुहुन्छ । “चिया टिप्ने मजदुर खोज्दा कोही पाइँदैन्,” उहाँले भन्नुभयो ।

मजदुर अभावका कारण कतिपय बगानमा हरियोपत्ती हुर्किएर जान थालेको छ । केन्द्रीय चिया सहकारी सङ्घका अनुसार अहिले जिल्लामा साना ठूला गरी ३० हजारको हाराहारीमा चिया किसान छन् । निजी बगानमा मात्र होइन नेपाल चिया विकास निगमअन्तर्गतका बगानमा पनि चिया श्रमिकको सङ्ख्या घट्दो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर