Aamsanchar

घरको छतमा गमला राखेर अग्र्यानिक तरकारी फलाउने महिलाको अठोट

Author Image
बुधवार, जेठ ३, २०७४

बिर्तामोड।

बिर्तामोडका महिलाले छतमा गमला राखेर जैविक तथा बेमौसमी तरकारी खेती गर्ने अठोट गरेका छन् । बजारमा विषादियुक्त सागसब्जीले मानव स्वास्थ्यमा नै गम्भीर असर पार्नुका साथै क्यान्सरजस्तो प्राणघातक रोग बढ्दै गएको भन्दै उनीहरुले अब अग्र्यानिक सागसब्जी घरमै उत्पादन गर्ने अठोट गरेका हुन् ।
गमला कृषक किचेन छत गार्डेन महिला समूह बिर्तामोडको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको सहयोगमा बुधबार भएको एकदिने जैविक तरकारी खेती एवम् बेमौसमी तरकारी खेती सम्बन्धी तालिममा सहभागी दशवटै वडाका महिलाहरुले अब आफ्नो घरको छतमा गमलामा सब्जी फलाउने बताए ।
कार्यक्रमको उद्घाटन समूहकी कार्यवाहक अध्यक्ष मालती विकको अध्यक्षता र नगरपालिकाका लेखा अधिकृत गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा पूर्व जनप्रतिनिधि एवम् एमाले नेता लोकबन्धु कन्दङ्वा, माओवादी केन्द्रका नेताहरु ज्योर्तिसिंह दर्लामी, सिपी कडरिया, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, मधेसी नेता रामु सिंह, महिला नेतृहरु राधा सुब्बा, देविका बस्नेत, बिर्ता सामुदायिक प्रहरी सेवा समुदायका सूर्य कन्दङ्वा, माओवादीका स्थानीय नेता बीरु दर्नाल लगायतले गमलामा तरकारी फलाएर आत्मनिर्भर बन्न सकिने बताए ।

एमाले नेता कन्दङ्वाले गमलामा तरकारी फलाउने प्रविधि सजिलो भएको बताउँदै थोरै मेहेनत नगर्नेहरु अब विषादियुक्त तरकारीकै कारण विभिन्न रोग लागेर अकाल मृत्युवरणको अवस्थामा पुग्ने बताए । उनले बारी हुनेलाई बारीमा नहुनेलाई घरको छतमा गमला राखेर आफूलाई खाने तरकारी अग्र्यानिक ढंगले उत्पादन गर्न आग्रह समेत गरे ।


कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै माओवादीका नेता अरुण श्रेष्ठ (कुँवेर)ले मानव स्वास्थ्यका लागि अग्र्यानिक उत्पादन र परिश्रम आवश्यक रहेको हुनाले गमलामा तरकारी खेती प्रविधिलाई जोड दिइएको बताए । बिषयुक्त खानेकुरालाई विस्थापित गर्न तरकारीमा आत्मनिर्भर हुनुपर्ने भन्दै उनले अग्र्यानिक जीवनयापन गर्न सकेमात्र मानिसको स्वास्थ्य राम्रो हुने बताए ।
कार्यक्रम सञ्चालक समेत रहेकी भगवती मेचे खरेलले बिर्तामोडको प्रत्येक वडामा कम्तीमा १०÷१० घरमा गमलामा अग्र्यानिक तरकारी उत्पादन शुरु गरिने बताइन् । गमला कृषक किचेन छत गार्डेन महिला समूह अन्तर्गत प्रत्येक वडामा १३ देखि १७ जना महिला संगठित छन् ।
एकदिने उक्त प्रशिक्षणमा १ सय ५० बढी महिलाको सहभागिता रहेको थियो भने कृषि विज्ञ देवेन्द्र गुरागाईंले प्रशिक्षण दिएको रीता अधिकारीले बताइन् ।
कार्यक्रममा सहभागी घरको छतमा गमला राखेर अग्र्यानिक तरकारी उत्पादन गर्ने प्रविधि देशका सबै शहरमा बिस्तार गर्न सके क्यान्सरजस्तो घातक रोगबाट हुने मृत्यु दर कम गर्न सकिने बताए ।
अहिले झापाको बिर्तामोड लगायतका बजारमा उपलब्ध सागसब्जी भारतीय बजारबाट आयात हुने र अत्याधिक मात्रामा विषादियुक्त हुने विज्ञहरुले बताएका छन् । सजिलोका लागि बजारमा हेर्दा राम्रो देखिने सागसब्जी किनेर खाने बानी लागेकोले अहिलेको परिस्थितिमा क्यान्सर रोगीहरु बढिरहेको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर