Aamsanchar

किसानलाई प्रोत्साहन गर्न अनुदान

Author Image
बिहिवार, जेठ ४, २०७४

मोरङ।

सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो । मोरङका किसानले साना सिँचाइ योजनाअन्तर्गत रु एक करोड २२ लाख, पकेट ब्लकअन्तर्गत रु एक करोड ६५ लाख र चैतेधान कार्यक्रमअन्तर्गत रु ५० लाख बराबरको अनुदानको व्यवस्था गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार चैतेधान कार्यक्रमअन्तर्गत किसानलाई रु ५० लाखभन्दा बढी रकम अनुदान दिन लागेको बताउनुभयो । एक हजार हेक्टरमा लगाएको चैतेधानका किसानलाई प्रतिहेक्टर रु पाँच हजारका दरले अनुदान दिने उहाँले बताउनुभयो ।

बर्खे धानका लागि विभिन्न जातका धानका बीउ अनुदानमा वितरण भइरहेको यादवको भनाइ छ । जिल्लामा ८०० हेक्टर जग्गामा लगाइने बर्खे धानका लागि ४० मेट्रिक टन बीउ किसानलाई ५० प्रतिशत अनुदानका रुपमा वितरणको तयारी कार्यालयले गरेको छ । जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा तरकारी ब्लक र इटहरा सिजुवामा धानको ब्लक सञ्चालन भइरहेको छ ।

ब्लक सञ्चालक समितिले गरेको सिफारिसका आधारमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान रकम पाउने प्रावधान छ । दुवै ब्लकका लागि सरकारले रु एक करोड २२ लाख अनुदान उपलब्ध गराएको छ । जिल्लाम ६५ वटा पकेट क्षेत्र कार्यक्रम सञ्चालन भइरहेको छ । यसका लागि रु एक करोड ६५ लाख अनुदान उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर