Aamsanchar

सडकमा निर्माण सामग्री, दुर्घटनाको जोखिम

Author Image
आइतवार, जेठ ७, २०७४

[अमित खम्बू]
अर्जुनधारा।

नियमनकारी निकायको बेवास्ताका कारण ऐनको खिल्ली उडाउँदै सडक पेटीमा सञ्चालन हुने पसल र जथाभावी सामग्री राख्ने प्रवृत्तिले सवारी दुर्घटनाको जोखिम बढाएको छ ।
सडक पेटीमा हुने यस किसिमको प्रवृत्तिको कारण सवारीको बढ्दो चाप र साँघुरो सडकमा सवारी आवागमन समस्या हुँदा सवारी दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी कार्यालय शनिश्चरेका प्रमुख प्रहरी हवल्दार जनक खड्काले बताए ।
सडक पेटीमा सञ्चालन हुने पसल र राखिने विभिन्न सामग्रीका कारण सडक डम्पिङ साइट बन्दै गएको हुँदा यसले सडकको सुन्दरता गुमेको स्थानीय महेश ढकालले बताए । व्यग्यात्मक शैलीमा उनले भने– ‘यस्तो कार्यले अर्कोलाई पनि नियम उल्लंघन गर्न प्रोत्साहन मिल्दैछ ।’

त्यसैगरी सडक पेटीमा सञ्चालन हुने पसल र राखिने सामग्रीहरुलाई व्यवस्थापन गर्नसके आफूहरुलाई आवत–जावतमा सहज हुने स्थानीय सिटी सफारी चालक सन्तोष सुबेदी बताउँछन् । सडक पेटी व्यवस्थापन र अनुगमन गर्न समन्वयका लागि आफूले पटक–पटक पत्रमार्फत् सम्बन्धित नगरपालिका र अर्जुनधारा उद्योग वाणिज्य संघलाई जानकारी गराउँदा दुबैबाट बेवास्ता भएको बताए । ‘भोलि यसको कारण हुनसक्ने दुर्घटनाको जिम्मेवारी कसले लिने ?’– प्रमुख खड्का प्रतिप्रश्न गर्छन् ।
यता यस विषयमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राधाकृष्ण खतिवडासँग बुझ्दा नगरपालिकाभित्र देखिने यस प्रकारको समस्या समाधान गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि नगरपालिकाले मात्र समस्या समाधान गर्न नसक्ने बताए । सरोकारवाला संघ–संस्थाको समन्वयमा समस्या समाधान गर्न सक्दो पहल गर्ने प्रमुख खतिवडाले जानकारी दिए ।
स्थानीय स्वायत्त शासन ऐनमा सडक पेटीमा जथाभावी सञ्चालन हुने पसल र सामग्री राखेको भेटिएमा नगरपालिकाले १० हजार रुपैयाँसम्म जरिवाना लिन सक्ने व्यवस्था उल्लेख छ ।
यसैबीच अर्जुनधारा–८ स्थित नारायणचौक–हात्तीकिल्ला–जयपुर सडक पेटीमा राखिएको गिटी र बालुवाको थुप्रो अर्जुनधारा युथक्लबले स्काभेटरको प्रयोग गरी हटाएको छ । प्रत्येक शनिबार विभिन्न स्थानहरुको सरसफाई गर्ने अभियान शुरु गरेको सो क्लबका अध्यक्ष उत्सव ढकालको नेतृत्वमा चौथो हप्ता स्थानीय नारायण चौक सरसफाई गर्ने क्रममा सडक पेटीमा राखिएको सो सामग्री हटाइएको हो ।
यसअघि सोही नगरपालिका–७ स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधामस्थित शितला देवी मन्दिर परिसर सरसफाई गरेको क्लबले आगामी दिनमा सडक पेटीमा सञ्चालन हुने पसल र राखिने सामग्रीहरु हटाउन सहयोगी भूमिका निर्वाह गर्ने क्लबका सचिव विजय राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर