Aamsanchar

काठमाडौँ महानगरपालिकाको पचास प्रतिशत मतगणना

Author Image
सोमवार, जेठ ८, २०७४

काठमाडौँ ।

मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ ।

सोमबारदेखि सुरु गरिएका मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताउनुभयो । कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३ ) मत खसेको थियो । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा निर्वाचन कार्यालयले १३ स्थानमा गणना गरिरहेको छ ।

दैनिक चौबिसै घन्टा गणना गरे पनि मतपत्र ठूलो भएकाले मतगणनामा ढिलाइ भएको छ । ठूलो मतपत्रका कारण एउटा मतपत्र गणना गर्न कम्तीमा तीन मिनेट लाग्ने गरेको छ । बिहान ७ देखि साँझ ६ बजेसम्म एक समूह र साँझ ६ देखि बिहान ६ बजेसम्म अर्को समूहले मगगणना गरिरहेका छन् । अहिले दैनिक १५ देखि २० हजार मतगणना भइरहेकामा सकिन अझै पाँच दिन लाग्ने अनुमान गरिएको छ । अब ७६ हजार २४२ मतगणना गर्न बाँकी छ । पहिले तीन ठाउँमा मात्र गणना गरिएकामा ढिलाइ भएपछि थप स्थानमा मतगणना गरिएको हो । बत्तीस वडा रहेको महानगरपालिकामा अहिलेसम्म १३ वटा वडाको मात्र मतगणना सकिएको छ । तीमध्ये नेकपा(एमाले)ले सात र नेपाली काँग्रेसले छ वडामा विजय हासिल गरेका छन् ।

केही वडामा प्रमुखमा नेपाली काँग्रेसका राजुराज जोशीले बढी मत ल्याए पनि एमालेका विद्यासुन्दर शाक्यलाई मत गएको देखिन्छ । पचास प्रतिशत मतगणना सकिँदा प्रमुखमा मुख्य प्रतिस्पर्धा शाक्य र जोशीबीच भइरहेको छ । पहिलेदेखि अग्रता हासिल गर्नुभएका शाक्यले अहिले अग्रता लिनुभएको छ । नयाँ उदाएका विवेकशील नेपाली दल र साझा पार्टीले पनि सोचेभन्दा राम्रो मत पाएका छन् ।

अहिलेसम्मको मतपरिमाणानुसार एमालेका शाक्यले ३१ हजार ५५५ मत प्राप्त गरी अग्रता कायम राख्नु भएको छ । उहाँलाई काँग्रेसका जोशीले २२ हजार ४२१ मतले पछ्याइरहनु भएको छ । यस्तै विवेकशील नेपाली दलकी रञ्जु न्यौपानेले १२ हजार १३२, साझा पार्टीका किशोर थापाले नौ हजार ३३२ तथा नेकपा (माओवादी केन्द्र)का सर्वाेत्तम डङ्गोलले तीन हजार ४५४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी गराउनुभयो । यसैगरी उपप्रमुखमा काँग्रेसका हरिप्रभा खड्गीले २९ हजार ६५, राप्रपाका राजाराम श्रेष्ठले १७ हजार ७३१, साझा पार्टीकी निरूपमा यादवले पाँच हजार ९२० र माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर