Aamsanchar

झापामा बुद्धशान्ति र कमल नगरपालिका थपिए

Author Image
बुधवार, जेठ १०, २०७४

बिर्तामोड,

बुद्धशान्ति गाउँपालिका र कमल गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गरेसँगै झापामा नगरपालिकाको संख्या १० पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको मन्त्री परिषद्को बैठकले १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णण गरेको र सोही बमोजिम झापामा दुई वटा नगरपालिका थपिएका हुन् । यस अघि भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड, शिवसतासी, अर्जुनधारा, गौरादह र कनकाई गरी आठवटा नगरपालिका थिए ।
आठ नगरपालिका र सात गाँउपालिका भएको झापामा दुई वटा नगरपालिका थपिएसँगै गाउँपालिकाको संख्या अब पाँचमा झरेको छ । बाह्रदशी, झापा, केचनाकवल, हल्दिवारी र गौरीगञ्ज गरी झापामा पाँच गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार थपिएका दुई नगरपालिका मध्ये वुद्धशान्ति नगरपालिकामा २६ हजार सात सय १६ जना मतदाता रहेका छन् । जसमा पुरुष १३ हजार २ सय ४५ र महिला १३ हजार ४ सय ७१ जना मतदाता रहेका छन् ।
त्यस्तै कमल नगरपालिकामा पुरुष १४ हजार तीन सय ७३ र महिला १५ हजार २९ गरी २९ हजार ४ सय २ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले बताए ।
दुई नगरपालिकाको तथ्याङ्क
बुद्धशान्ति नगरपालिका नेकपा (एमाले) झापाका अध्यक्ष चिन्तन पाठकको क्षेत्र हो । जहाँ पाठकको नाम नेकपा एमालेका तर्फबाट मेयरका लागि चर्चामा छ ।
त्यस्तै नेपाली कांग्रेसबाट लय भण्डारी, चक्र सेर्मा, चेतन ढुङ्गेल, रमेश भुजेल, खड्ग पन्धाकको नाम मेयरका लागि चर्चामा छ । यता माओवादी केन्द्रबाट खड्ग तिम्सिना पवन, मनोरथ तिवारीको नाम चर्चामा छ भने राप्रपाका तर्फबाट नन्दप्रसाद तिम्सिनाको नाम सिफारिस भएको छ ।
उता कमल नगरपालिकामा नेपाली कांग्रसका लागि हुकुमसिंह राईको नाम चर्चामा छ । नेकपा एमालेको भने अझै टुङ्गो लाग्न सकेको छैन । माओवादीकातर्फबाट बिमल संग्रौला र राप्रपाको तर्फबाट विष्णु पौडेलको नाम मेयरमा सिफारिस भएको छ ।
झापामा ५ लाख १० हजार दुई सय १६ मतदाता
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ५ लाख १० हजार दुई सय १६ मतदाता रहेका छन् । जसमा दुई लाख ५३ हजार ४ सय १५ पुरुष र २ लाख ५६ हजार ७ सय ९८ महिला रहेका छन् । जसमा तीन जना तेस्रो लिङ्गी पनि रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापाका दश नगरपालिका र पाँच गाउँपालिका मध्ये सबैभन्दा बढी मतदाता मेचीनगर नगरपालिकामा रहेका छन् । मेचीनगर नगरपालिकामा ७२ हजार ७ सय ९४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै सबैभन्दा कम मतदाता भएको गाउँपालिका हल्दिवारी हो । जहाँ १८ हजार ८ सय ९२ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर