Aamsanchar

पशुपालनले स्वरोजगार बनायो

Author Image
बुधवार, जेठ १०, २०७४

इलाम।

इलाममा गाइपालन तथा दूधजन्य ब्यवसाय फस्टाउँदै छ । दिनहँु हजारौ युवाहरु रोजगारको खोजीमा विदेशिरहेको अवस्थामा केहीले भने यहीँ बसेर पनि राम्रै आम्दानी गरिरहेका छन् ।
इरौटार–९ हाल रोङ गाउँपालिका वडा नम्बर ४ का प्रेमसागर चापागाईं अहिले यही व्यवसायबाट स्वरोजगार बन्दैछन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदवार समेत रहेका चापागाईंका लागि यो व्यवसाय फाइदाजनक भएको छ । उत्पादित दूध झापाकै एक सहकारीले किनिदिने भएकाले उनलाई तत्कालको लागि बजारको समस्या छैन ।
त्यस्तै, इलामकै सूर्योदय नगरपालिकास्थित सिद्धी गाउँका किसान दम्पत्ती पदम गिरी र पूर्णमाया गिरीले अहिले ५ माउ गाई पालेका छन् । गिरी दम्पत्तीले आफ्नो आमा र बुवाको नामबाट इन्द्रलोक गाई फार्म राखेका छन् । एक वर्षअघि उत्कृष्ठ पशुपालन फार्मको रुपमा जिल्ला पशु सेवा कार्यालय इलामबाट छनौट भइ पुरस्कृत भएको सो फार्मका लागि गिरीले ४ लाख ४२ हजारको लगानीमा गाईको गोठ बनाएका छन् ।

त्यस्तै इलामको पशुपतिनगर–९ तीनखुट्टेमा सञ्चालनमा रहेको लक्की डेरीले पनि तुलु तामाङलाई स्वरोजगार बनाएको छ । तामाङले आफू मात्रै होइन अरु १२ जनाभन्दा बढी युवालाई रोजगारी दिएका छन् । इलामकै भालुखोपमा पनि तीनजना रेग्मी दाजुभाइ मिलेर त्रीब्रदर्श गाईफार्म सञ्चालनमा रहेको छ । फाकफोकथुम गाउँपालिका–३ का युवा कृषक बुद्धिबहादुर राईले डेरी उद्योग स्थापना गरेका छन् ।
उनले किनारबाबु डेरी नामक उद्योग स्थापना गरी नियमित रूपमा दूध प्रशोधन पनि गरिरहेका छन् । राईले स्थापना गरेको डेरी उद्योगलाई व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)–ले तीन लाख र अन्य ७५ हजार रुपैयाँ लगानी गरेर थप व्यवसायिक बनेका छन् । किसानहरु पशुपालन व्यवसाय र दूधजन्य उत्पादनका भरमा व्यवसायिक बन्दैछन् । तर, दूधको मूल्य कम भएको किसानहरुको गुनासो रहेको छ । उन्नत जातको साँढेको अभाव, कृतिम गर्भाधान सेवाको अभाव जस्ता कारणले गर्दा किसानले भने जति आम्दानी गर्न सकिरहेका छैनन् ।
किसानको लागि आवश्यक घाँसको बीऊ पनि नभएको उनीहरुको गुनासो रहँदै आएको छ । पशुपालन व्यवसाय सँगै कति किसानले तरकारी खेती पनि सँगसँगै गर्दै आएका छन् । त्यस्तै दूधको परिकार बनाएर बिक्री गर्नेले आम्दानी बढी लिने गरेको पाइन्छ । तर, बेला–बेलामा हुने बन्द हड्तालले भने उनीहरुलाई समस्या हुने गरेको किसानहरु बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)