Aamsanchar

फेसबुकको दुरुपयोग बढ्यो /उजुरी लिन मान्दैन प्रहरी

Author Image
बिहिवार, जेठ ११, २०७४

(नरेन्द्र ढकाल)

बिर्तामोड।

घर–घरमा इन्टरनेट र हात हातमा मोबाइल फोन पु¥याउने सरकारको लक्ष्य अनुसार धेरै मानिस इन्टरनेटको पहुँचमा पुगेका छन् । तर पछिल्लो समय केही मानिसलाई त्यही इन्टरनेट टाउँको दुखाईको विषय बनेको छ ।
झापाको मेचीनगरकी सुशीला भण्डारी (नाम परिर्वत) लाई यस्तै समस्या भएको छ । सामाजिक सञ्जाल फेसबुकमा कसैले अश्लील तस्वीर राखेर आफ्नो फेसबुक आइडी बनाएपछि आफूलाई समाजमा मुख देखाउन समेत समस्या भएको दुखेसो गरिन् । उनको तस्वीरको टाउँको अन्य अश्लील तस्वीरमा जोडी दिएर आफ्ना अधिकांश साथीहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाउने गरेकाले आफू समस्यामा परेको उनले बताइन् ।
उनले काँकरभिट्टा प्रहरीमा आफ्नो समस्याको बारेमा जानकारी गराउँदा समेत प्रहरीले उजुरी लिन नमानेको तथा काठमाडौं जानु हामीले केही गर्न सक्दैनौं भनेपछि झन निराश बनेको बताइन् । त्यस्तै केही समय अघि यस्तै समस्या झापाकै चारआलीकी मीना राई (नाम परिर्वतन)ले पनि भोग्नु परेको बताइन् । उनले पनि आफ्नो फेक आइडी बनाएर अश्लील तस्वीर हालेर फ्रेण्ड रिक्वेस्ट पठाएर हैरान बनाएको गुनासो गरिन् । उनले पनि प्रहरीलाई आफ्नो समस्याको बारेमा जानकारी गराउँदा समेत प्रहरीले चासो नदिएको बताइन् ।
उनीहरु त उदाहरण मात्र हुन् यस्ता समस्या भएका धेरै रहेको बताइएको छ । अश्लील तस्वीर बनाएर फेक आइडीमा आफ्नो तस्वीरको टाउँको नाङ्गा शरीरहरुमा जोडेर समाजमा हिँड्डुल गर्न नै समस्या भएको महिलाहरुले गुनासो गरे । सामाजमा आफूहरुलाई नकारात्मक दृष्टिकोणमा हेर्ने डरले धेरै महिलाहरुले सामाजिक सञ्जाल फेसबुक नै डिएक्टीब गर्नुपरेको समेत बताए ।
पछिल्लो समय यस्ता समस्या झनै बढ्दै गएको प्रहरीले जनाएको छ । हाल यस्ता गुनासा आउन थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरि शर्माले बताए । उनले प्रहरीले उजुरी लिए पनि यहाँबाट केही गर्न नसक्ने बताए । साइबर अपराधको विषय काठमाडौंको विशेष अदालत तथा काठमाडौ प्रहरीले मात्र हेर्ने भएकाले समस्यामा परेकाहरुलाई काठमाडौं जान सुझाव दिने गरेको प्रवक्ता शर्माले बताए । उनले उजुरी भने लिने र पीडकलाई कारबाही गराउने विषयमा पहल भने गर्ने उल्लेख गरे ।
झापामा साइबर अपराधको विषय हेर्नका लागि जनशक्ति नभएको भन्दै डिएसपी शर्माले भने– हामी कहाँ आएका पीडितहरुको उजुरी लिएर कारबाही गराउन पहल गर्ने छौं । पछिल्लो समय गुनासो बढेर गएको छ । उता इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दुर्गाराज रेग्मीले उजुरी गर्न आउनेको उजुरी लिने बताए । उनले साइबर अपराधको गुनासो आफू भएको ठाउँमा नआएको कसैलाई समस्या भएमा सिधैं आफूलाई भेट्न सक्ने र आफ्नो गुनासो राख्न सकिने बताए । उनले प्रहरीले उजुरी लिन नमानेको विषयमा अनभिज्ञता प्रकट गर्दै पीडितलाई न्याय दिने विषयमा अब गुनासो गर्ने ठाउँ नदिने उल्लेख गरे ।
के छ कानूनमा ?
विद्युतीय कारोबार ऐन ०६३ र नियमावली ०६४ बमोजिम त्यस्ता अपराध गर्ने व्यक्तिलाई तीन वर्ष कैद वा दुई लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानूनमा उल्लेख छ ।
पूर्वमा साइबर अपराध बढेपनि दुई वर्षको अवधिमा कसैले पनि मुद्दा दर्ता नगराएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार विद्युतीय अपराधका घटनामा बृद्धि भएका गुनासोहरु आएपनि उजुरी भने दर्ता भएका छैनन् ।
प्रशस्त गुनासो आए पनि लिखित रुपमा उजुरी दर्ता नभएकाले कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको प्रहरीले जनाएको छ । प्रनि निरौलाले साइबर अपराध गरेको जानकारी पाउनासाथ त्यस्तो प्रमाण कम्प्युटरमा सुरक्षित राखेर नजिकको प्रहरीमा खबर गर्न अनुरोध गरेका छन् ।
नेपालमा पछिल्लो समय साइबर कानूनको अभावमा क्राइमको स्थित ह्वात्तै बढेको र यसलाई चाँडै नियन्त्रण नगरे समाजमा ठूलो असर पर्न सक्ने चुनौति देखिएको जानकारहरु बताँछन् । उनीहरुले यसलाई रोक्न पर्याप्त कानून र सरकारले नियन्त्रण गर्न सुझाव दिएका छन् । विशेष गरी ह्याकरहरुले सेक्सको प्रचारप्रसार सामग्री राख्ने, प्रोनोग्राफी र अनलाइन सेक्सको व्यापार गर्ने, सामाजिक सञ्जाल (फेसबुक र ट्वीटर)मार्फत व्यक्तिलाई फसाएर आक्रमणको निशाना बनाउने गरेको प्रहरीले जनाएको छ । विद्युतीय कानून अनुसार अपराधीलाई कारबाही गर्ने र सबैभन्दा पहिला सचेतनाको अवश्यकता देखिएको प्रहरी निरीक्षक निरौलाले बताए ।
प्रहरीमाथि पनि गुनासो भए
यदि तपाईको गुनासो प्रहरीले सुनेन भने तपाई सिधैं प्रहरी प्रधान कार्यालयको गुनासो सुन्ने कक्षमा जानकारी गराउन सक्नुहुनेछ । त्यसका लागि ०१–४४१०१४४ वा हटलाइन १११३ मा फोन गरेर प्रहरीमाथि कुनै गुनासो भए टिपाउन सकिने प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

प्रहरीले पीडितको गुनासोलाई बेवास्ता गरेको पाइएमा तत्काल कारबाही प्रकृया अगाडि बढाउने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर