Aamsanchar

तेह्र हजार सुधारिएको चुलो निर्मित

Author Image
आइतवार, जेठ १४, २०७४

तेह्रथुम।

घरलाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत सुधारिएको चुलो निर्माणको अभियानले गति लिएको छ । सबै घरधुरीमा सुधारिएको चुलो निर्माण तथा प्रयोग गरी जिल्लालाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत जिल्लाभर हालसम्म १२ हजार ५९६ धुवाँरहित सुधारिएको चुलो निर्माण भएका छन् । जिल्लामा १७ हजार ४३२ घरधुरी भएकामा हालसम्म १२ हजार ५९६ सुधारिएको चुलो बनेको जिल्ला सेवा केन्द्र देउराली सोसाइटीका फोकल पर्सन सोमनाथ ढकालले बताउनुभयो ।

अभियानकै क्रममा दुई नगरपालिका र चार गाउँपालिका (साबिकमा ३२ गाविस) रहेको जिल्लाका साब्ला, पिप्ले, जिरीखिम्ती र आम्बुङ गाविस घरभित्रको धुवाँरहित क्षेत्र घोषणा भइसकेका छन् ।

यस्तै मोराहाङ, सोल्मा, जलजले, श्रीजुङ र खाम्लालुङ पनि घरभित्रको धुवाँरहित घोषणा भएका छन् । निर्धारित मितिभित्रै जिल्लालाई धुवाँरहित बनाउन सबै नगरपालिका र गाउँपालिकाका वडामा चुलो बनाउने अभियान तीव्र रुपमा चलाइएको छ । सबै घरधुरीमा चुलो बनिसकेका सुदाप, पञ्चकन्या, सिम्ले र आङिदममा घरभित्रको धुवाँमुक्त घोषणाको तयारी भइरहेको छ । ती गाउँलाई चालु आवभित्र घरभित्रको धुवाँमुक्त घोषणा गरिने बताइएको छ ।

बाँकी सबै गाउँमा चुलो निर्माणको काम भइरहेको जिल्ला सेवा केन्द्र देउराली सोसाइटीका अध्यक्ष दिनेशप्रसाद खनालले बताउनुभयो । जिल्लाभर हालसम्म एक सय ५० स्टोभ मास्टर चुलो बनाउने काममा खटिएका छन् । उनीहरुले स्थानीयवासीको मागबमोजिम तोकिएको मूल्यमा चुलो निर्माण गरिदिएका छन् । सामान्य एउटा चुलो निर्माणका लागि रु एक हजार ५०० खर्च लाग्छ ।
जिल्लामा तीन वर्षयता वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत क्षेत्रीय सेवा केन्द्र नाम्सालिङ विकास केन्द्रको सहयोगमा जिल्ला सेवा केन्द्रका रुपमा देउराली सोसाइटीले चुलो निर्माणका लागि सहजीकरण गर्दैआएको छ । बाँकी घरधुरीमा पनि यथाशीघ्र धुवाँरहित सुधारिएको चुलो निर्माण गरी जिल्लालाई नै घरभित्रको धुवाँरहित जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका सूचना अधिकारी देवेन्द्र निरौलाले बताउनुभयो ।

स्वास्थ्यका लागि निकै हानिकारक मानिने धुवाँ घरभित्र जम्मा हुन नदिन र स्वस्थ समाज निर्माणका लागि अभियानलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर