Aamsanchar

झापामा चुनावले व्यापार बढ्यो

Author Image
आइतवार, जेठ १४, २०७४

दमक।

दोश्रो चरणको निर्वाचनका लागि प्रदेश नं. १ को झापामा चुनावी रौनक बढेपछि बिभिन्न क्षेत्रको व्यापार ह्वात्तै बढेको व्यवसायीहरुले बताएका छन् । निर्वाचन होला कि नहोला भनेर आंशकामा बसेका यहाँका राजनीतिक दल र उम्मेदवारहरु अहिले प्रचारप्रसारमा तीब्र रुपमा दौडिएसँगै व्यापार व्यवसाय ह्वात्तै बढेको पाइएको हो ।

मानिसहरुको चहल पहलसँगै यहाँका ब्यापार ब्यवसाय बढेको दमक उद्योग बाणिज्य संघका अध्यक्ष बिमल खतिवडाले बताए । छापाखाना, होटल, कपडा, मदिरा तथा पेयपदार्थका पसल, भाडाका सवारी साधन, सिटी सफारी लगाययतका क्षेत्रमा उम्मेदवार तथा राजनीतिक दलहरुले खर्च गर्न थालेका छन् । बाणिज्य संघका उपाध्यक्ष खतिवडाका अनुसार कुनै एउटा मात्र व्यवसाय नभएर निर्वाचनले सबै व्यवसायलाई नै सकारत्मक प्रभाव पारिरहेको छ ।
होटलवाला मालामाल
निर्वाचनको माहोल तातेसँगै होटलहरुमा भीड बढ्न थालेको छ । राजनीतिक दल तथा उम्मेदवारहरुले होटलहरुमा नै मिटिङ तथा छलफल राख्न थालेकाले होटलमा बिक्री बढेको हो । होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगालका अनुसार निर्वाचनले व्यापार व्यवसायमा सकारात्मक नै प्रभाव पारेको छ ।

चिसो पेय पदार्थदेखि लिएर होटलमा खाजा खान आउने पार्टी नेता तथा कार्यकर्ताकहरुको आवतजावत हुन थालेको छ । बाँकी समेत गर्ने गरेकाले यसमा भने समयमा नै सचेत हुनुपर्ने अवस्था रहेको उनी बताउँछन् ।
छापाखानालाई भ्याइनभ्याइ
सबैभन्दा धेरै भ्याइनभ्याइ छापाखानाहरुलाई भएको छ । नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुको बेग्लाबेग्लै प्रचार सामग्रीहरु बनाउनका लागि अर्डर आउने भएपछि छापाखानाहरुलाई भ्याइनभ्याइ भएको हो । दमकको पुरानो छापाखाना तथा प्रिन्टिङ प्रस चलाउँदै आएका गंगा ताजपुरियाका अनुसार पर्चा पम्प्लेटका लागि रातभर काम गर्नुपर्ने अवस्था रहेको छ । दमक २ वटा नगरपालिका र एउटा गाउँपालिकाको केन्द्र भएकाले धेरै काम आउने गरेको उनको भनाइ छ ।
यसैगरी फ्लेक्स प्रिन्टहरुमा पनि अहिले भ्याइनभ्याइ नै हुने गरेको पाइन्छ । फ्लेक्स प्रिन्ट व्यवसायी निरज निरौलाका अनुसार उम्मेदवारहरुले ठाउँठाउँमा तुल बनाएर टाँङ्नका लागि फ्लेक्स प्रिन्ट बनाउने गरेका छन् ।
टि सर्टको अभाव
राजनीतिक दलहरुले युवाहरु आकर्षण गर्नका लागि र प्रचारका लागि हजारै टि–सर्टहरु अर्डर गर्न थालेका छन् । एकजना कपडा व्यवसायीका अनुसार बिभिन्न राजनीतिक दलहरुले ८ हजारभन्दा बढी टि–सर्टको अर्डर गरेका छन् । पार्टीको चुनाव चिन्हसहितका टिसर्टहरुको माग अधिक भएकाले थेक्न नसक्ने अवस्था आएको ती व्यवसायीले बताए । आचारसंहिताले पार्टी चिन्ह अंकित टिसर्टहरु खरिद गर्न नदिने भएकाले कसैलाई पनि परिमाण नबताउन भन्दै माग गर्न आउने गरेको उनले बताए ।
झण्डा र झण्डाको कपडाको माग
सबैजसो राजनीतिक दलहरुले अहिले झण्डालाई प्राथमिकता दिएका छन् । पार्टीको र चुनाव चिन्ह भएको झण्डा प्रत्येक घर तथा पसलमा पु¥याउनका लागि यसको माग बढेको छ । सवारी साधनहरुमा पनि झण्डाहरु राख्नका लागि पार्टीले निर्देशन दिएपछि झण्डा बनाउने व्यवसाय पनि अहिले राम्ररी चलेको छ ।

नेकपा एमालेका एक नेताका अनुसार एउटा झण्डाका लागि सरदरमा २०देखि २२ रुपैयाँसम्म पर्ने गरेको छ । प्रारम्भिक चरणमा एउटा नगरमा मात्र करिब ५ हजार झण्डा बनाउन लगाइएको छ । झण्डा बनाउनेहरुको अभाव भएकाले बिभिन्न ठाउँमा बनाउन दिइएको पनि उनले बताए ।
भाडाका सवारी साधन फाइदामा
उम्मेदवारहरुले चुनावी प्रचारका लागि भाडाका सवारी साधन र सिटी रिक्सालाई अधिकतम् प्रयोग गर्न थालेका छन् । नगर तथा गाउँ प्रमुख र उपप्रमुखले कम्तीमा पनि ३ देखि ४ वटा गाडी र वडाध्यक्षहरुले एक÷एकवटा गाडी लिएर हिँड्न थालेपछि भाडाका गाडीहरुलाइ पनि कमाउने अवसर मिलेको छ ।

सिटी रिक्साहरु पनि माइकिङका लागि प्रयोग भएका छन् । यसैगरी उम्मेदवारहरुले पैसा दिएर सिटी रिक्सामा आफ्नो फोटोसहितको प्रचार पम्प्लेट टाँस्ने र त्यो बापत सिटी रिक्सा चालहरुलाई पैसा दिने गरेको बताइन्छ । हलुका सवारी चालक मजदुर संघका सचिब गणेश गौतमका अनुसार चुनावी प्रचारमा भाडाका सवारी साधनहरुको माग बढ्न थालेको छ
बालुवा र ढुङ्गाको माग ह्वात्तै बढ्यो
झापा जिल्ला बिभिन्न खोलानालाले घेरिएको जिल्ला भएकाले डुबानको समस्या धेरै रहेको छ । कटान र डुबानको क्षेत्रमा उम्मेदवारहरु भोट माग्दै जाने क्रममा स्थानीयले खाल्डो देखाएपछि उम्मेदवारहरुले रातारात त्यस्ता खाल्डाहरुमा बालुवा तथा ढुङ्गाहरु झार्न थालेको पाइएको छ ।

कच्ची सडक र भत्केका ठाउँहरु समेत मतदाताले पुर्न लगाउन थालेका छन् । मतदाताहरुले यस्ता बिषय उठाएपछि उम्मेदवारहरुले मत पाउनका लागि आफ्नै खर्चमा पनि काम गर्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर