Aamsanchar

पूर्वमै पहिलोपटक बिर्तामोडमा ‘ग्याष्ट्रो इन्टेरोलोजिष्ट’को सेवा

Author Image
आइतवार, जेठ १४, २०७४

झापा,


झापाको बिर्तामोडमा पहिलो पटक ग्याष्ट्रो इन्टेरोलोजिष्टको सेवा शुरु भएको छ । यो सेवा पूर्वकै पहिलो भएको बताइएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा यसै साता ग्याष्ट्रो इन्टेरोलोजिष्ट चिकित्सक हरि घिमिरे आएसँगै उक्त सेवा शुरु भएको हो । उनी ग्याष्ट्रो इन्टेरोलोजिष्टमा पाकिस्तानबाट बिशेषज्ञता (एमडी) हासिल गरेर सोझै बिएण्डसीमा सेवाका लागि आएका हुन् ।
पाकिस्तानको लाहोरस्थित किङ एडवर्ड मेडिकल युनिभर्सिटीबाट ग्याष्ट्रो इन्टेरोलोजिष्टमा उनले एमडी गरेका हुन् । मोरङको विराटनगर निवासी डा. घिमिरेले एमबीबीएस पनि पाकिस्तानको कराचीबाट गरेका हुन् । एमबीबीएसपछि काठमाडौंको वीर हस्पिटल तथा विभिन्न निजी हस्पिटलमा उनले सेवा पु¥याएका छन् ।
खानाको नली, ठूलो आन्द्रा, सानो आन्द्रा सबैखाले हेपटाइटिस, कलेजो सम्बन्धी समस्या, ग्याष्ट्रिक बढेको, छाती तथा मुटु पोल्ने समस्या, मुखमा पानी आउने, अमिलो–पिरो हुने, खाँदा कुनै कुरा अड्किएको, पेट फुल्नु, कालो दिसा जानु, नियमित दिसा नहुनु जस्ता समस्या डा. घिमिरेको उपचार क्षेत्रमा पर्दछन् । नेपालमा ‘लिभर सिरोसिस’ को समस्या बढ्दै गएकोमा उनी चिन्तित पनि छन् । स्मरणीय छ केही समयअघि मात्र बिर्तामोडस्थित एमइटी कलेजका सञ्चालक कुमार खड्का र न्यू लण्डन इन्स्टिच्युटका सञ्चालक मानव तामाङको पनि सोही रोगका कारण मृत्यु भएको थियो ।
नेपालमा हुने लिभर सिरोसिसको ९० प्रतिशत कारण रक्सी सेवन भएको डा. घिमिरेको भनाइ छ । कलेजोमा बोसो जम्ने ‘फ्याट लिभर’ जण्डिसको समस्या पनि उत्तिकै रहेको उनी बताउँछन् । खानपान नमिल्नु, पानीको कारण मानिसको कारण पेट सम्बन्धी समस्या निम्तिने बताउँदै उनले भने– ‘नियमित शारीरिक व्यापार नगर्ने हाम्रो जीवनशैलीले पेटमा रोगको घर बनाउँदै गइरहेको छ ।’ जण्डिस खराब पानीकै कारणले हुने उनको भनाइ छ । मानिसलाई ‘एच पाइलोरी’ नामक ब्याटेरियाको कारण ग्याष्ट्रिकको समस्या बढ्ने गरेको हुन्छ । ग्याष्ट्रिक बढ्दा मानिसले आफूखुशी औषधि सेवन गर्दा समस्या झन बढिरहेको छ । शरीरका विभिन्न भागमा दुखाई बढ्दा सेवन गरिने ‘पेन किलर’ले पेटमा सोझै ग्याष्ट्रिक बढाउने उनको भनाइ छ । चुरोट, रक्सीको सेवन, अनियमित खानापान, लामो समयसम्म खालीपेट बस्दा मानिसमा ग्याष्ट्रिकको समस्या बढ्ने गरेको डा. घिमिरेको भनाइ छ ।
मानिसमा बढ्दो यिनै समस्याको समयमा नै निदान गर्न आधुनिक प्रविधियुक्त बिएण्डसी हस्पिटलमा आफूले सेवा शुरु गरेको उनले बताए । त्यहाँ पूर्वमै पहिलोपटक ग्याष्ट्रिक टेष्ट गर्ने ‘युबिटी’ प्रविधि रहेको छ । त्यस्तै इण्डोसकोपी, कोलोनोसकोपी, पेटको सिटीस्क्यान समेत बिएण्डसीमा हुने भएकोले आफ्नो विशेषज्ञता अनुसारको प्रविधि प्रयोग गरी बिरामीलाई सेवा पु¥याउन पाइने हुँदा आफू बिएण्डसीमा आएको डा. घिमिरे बताउँछन् । बिएण्डसी आउनुको अर्को कारण पनि उनले खुलाए– ‘डा. रामबहादुर गिरीसँग वीर हस्पिटलमा सँगै काम गर्दा देखिको चिनजानले उहाँले नै आग्रह गरेका कारण र विराटनगर घरबाट नजिकै भएकोले पनि मैले यहाँ सेवा शुरु गरेको हो ।’ उनले चौबिसै घण्टा हस्पिटलमा सेवा दिने बताइएको छ ।
विभिन्न समस्यामा आफूखुशी औषधि सेवन गर्दा पेटको समस्या बढेकोले त्यसो नगर्न र विशेषज्ञ चिकित्सकको परामर्शमा मात्र औषधि सेवन गर्न उनले सुझाएका छन् । ‘एच पाइलोरी’ को समयमा नै उपचार नभए ग्याष्ट्रिक बिग्रिएर अल्सर, अल्सर बिग्रिएर क्यान्सर हुने डा. घिमिरेको भनाइ छ । उनले समस्याको समाधान बताए– ‘नियमित स्वास्थ्य जाँच गर्नुहोस्, चिकित्सकको सल्लाहमा सेवन गरिने औषधिको कोर्ष पूरा गर्नुहोस् ।’ स्वस्थ रहनका लागि दैनिक शारीरिक व्यायाम, साजसब्जी र फलफुलसँगै कम मसला र चिल्लो नभएका खानेकुराको सेवन गर्नुपर्ने डा. घिमिरेको सल्लाह छ । बिएण्डसीमा डा. घिमिरेले सेवा शुरु गरेपछि पेट सम्बन्धी सबैखाले समस्याका बिरामीहरु टाढा–टाढाबाट सेवा लिन आउने गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरी बताउँछन् ।
सेवालाई प्रभावकारी बनाउन यस सम्बन्धी आम सेवाग्राहीमा जानकारी गराउनुका साथै ग्रामीण तहसम्म स्वास्थ्य शिविर मार्फत सेवा दिने योजनामा डा. घिमिरे रहेका छन् । बिएण्डसी हस्पिटल समक्ष उनले पित्तनलीबाट दुरविनको सहायताले ‘स्टोन’ निकाल्ने ‘इआरसिपी’ मेसिन ल्याउन प्रस्ताव समेत गरेका छन् । डा. घिमिरेको प्रस्ताव अनुसार हस्पिटलले उक्त मेसिनका साथै अन्य आधुनिक उपकरण थप गरी बिएण्डसी हस्पिटललाई नेपालकै आधुनिक सुविधा सम्पन्न प्रविधियुक्त गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटलको रुपमा विकास रहेको सोच रहेको कार्यकारी निर्देशक दुर्गा प्रसाई बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर