Aamsanchar

बङ्गालबाट आयो मनसुनी वायु, नेपालमा प्रभाव नपर्ने

Author Image
बुधवार, जेठ १७, २०७४

काठमाडौँ । 

नेपालमा प्रि मनसुन अवधि सकिनै लाग्दा बङ्गालको खाडीबाट मनसुनी वायु चक्रबात उड्न सुरु गरेको छ ।  यो मनसुनी वायुको सुरुको दिशा नेपालतर्फ डोरिए पनि पछिल्लो चरणमा बङ्गलादेशको आकाशमा रुमलिएकाले यसको प्रभाव नेपालसम्म खासै नपर्ने मौसमविद्ले दाबी गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट ‘मोरा’ नामको मनसुनी चक्रबात उडेर बङ्गलादेशका आकाशमा टम्म भरिएको छ ।  जसको केही प्रभावले नेपालको पूर्वी भागमा मङ्गलबार वर्षा भएको छ ।
उहाँले भन्नुभयो, ‘बङ्गलादेशबाट उठेको चक्रबात उत्तर पूर्वी भेग हुँदै बहने देखिएको छ ।  यसले नेपालमा खासै असर नगरे पनि पूर्वी भेगमा केही दिन सामान्य बदली हुने सम्भावना रहेको छ । ’ मनसुन सुरु हुन अझै एक हप्ता बाँकी रहेको बेला बङ्गालको खाडीबाट पहिलो पटक मनसुनी वायु उठान भएकाले यस वर्ष जुन १० को आसपासमा मनसुन नेपाल प्रवेश गर्ने उहाँले बताउनुभयो ।  सामान्यतया जुन १० मा नै मनसुन नेपाल प्रवेश गर्ने गर्छ तर पछिल्लो चरणमा जलवायु परिवर्तनको असरका कारण मनसुन भित्रिन केही ढिला हुने गरेको छ ।  यसै कारण यस वर्ष पनि मनसुन भित्रिन केही ढिलाइ हुन सक्ने
बताइएको छ ।
प्रि मनसुनका बेला छिन छिनमै मौसम बदली हुने गर्छ ।  यसै कारणले स्थानीय वायुमण्डलमा विकसित भएको जलवाष्पयुक्त वायुको चापका कारण पूर्वमा र पश्चिमी वायुको प्रभावले देशको पश्चिमी क्षेत्रमा पनि छिटपुटमा पानी पर्ने क्रम जारी छ ।  गत हप्ता केही दिन आकाश खुला भए पनि यस वर्ष प्रि मनसुनको अवधिभर छिटपुट रूपमा पानी परिरहँदा नेपालका तराई क्षेत्र बाहेक अन्य स्थानमा खासै गर्मीको महसुस भएन ।
यसले खेती किसानीमा पनि सकारात्मक प्रभाव पारेको छ ।  अधिकांश पहाडी क्षेत्रमा मकै रोप्ने र गोड्ने सिजन यही भएकाले यस वर्षाले किसान खुसी भएका छन् ।  मङ्गलबार पूर्वी तथा मध्य नेपालका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ ।
उता पश्चिमी वायुको प्रभावले पश्चिम नेपालका तराई तथा पहाडी भेगमा पनि छिटपुट वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार सबैभन्दा बढी दाङमा ३६ मिलिमिटर पानी परेको छ भने पूर्वको सिमरामा २५ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ ।  त्यसैगरी, पूर्वको ताप्लेजुङ, विराटनगरलगायत क्षेत्रमा पनि वर्षा भएको महाशाखाले जनाएको छ ।  पश्चिमी क्षेत्रका दिपायल, डडेल्धुरा, नेपालगन्जमा पनि छिटपुट वर्षा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर