Aamsanchar

उद्योगी व्यवसायीद्वारा बजेटको स्वागत

Author Image
बुधवार, जेठ १७, २०७४

बिर्तामोड।

सरकारले आर्थिक वर्ष ०७४÷०७५ का लागि ल्याएको बजेटको झापाली उद्योगी व्यवसायीले स्वागत गरेका छन् । व्यवसायीका माग सम्बोधन नगरे पनि बजेट जनमुखी भएकाले विकास निर्माण लगायत व्यापार व्यवसाय गर्न सहजता हुने गरेको बजेट आएको भन्दै झापाली उद्योग व्यसायीले बजेटको स्वागत गरेका हुन् ।
सरकारको बाध्यात्मक अवस्थामा आएको बजेट महत्वकांक्षी भए पनि स्थानीय स्तरमै अधिकारसहित रकम प्रत्यायोजन गर्नुले अघिल्ला वर्षभन्दा यसवर्ष नीतिगत रुपमै परिवर्तन भएर आएको बजेट राम्रो अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए । उनले भने– ‘सरकारसँग हामीले जुन माग राखेका थियौं, बजेटमा त्यसको कुनै सुनुवाई भएर तर, बजेटले सबैलाई हित पुर्याउने मैंले विश्वास लिएको छु ।’ व्यवसायीका समस्यालाई बजेट आउँछ भन्नेमा हामी आशावादी थियौं तर त्यसरी बजेट आएन उनले भने– ‘काम चलाउ अवस्थामा रहेको सरकारले ल्याएको बजेट स्वागतयोग्य नै छ ।’
बाध्यात्मक अवस्थामा सरकारले ल्याएको बजेट स्वागतयोग्य भएको बताउँदै गाउँ–गाउँमा अधिकार सम्पन्न गर्न जनतालाई नै हस्तान्तरण गरिएको बजेट सराहनीय भएको उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले बताए । उनले भने–‘सिंहदरबारमा केन्द्रीत भएको बजेट अधिकारसहित गाउँमा आएको छ यो नै हामी आमनागरिकका लागि गर्वको विषय हो ।’ बजेटले व्यवसायीका समस्यालाई निराकरण नगरे पनि समग्र नेपालीको हितकर हुनेगरी यो सरकारले बजेट ल्याएको कार्कीले बताए ।
कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेलले बजेटमा खासै नयाँ कुरा नभए पनि विकास निर्माणलाई लक्षित गरेर ल्याइएको बजेट स्वागतयोग्य भएको बताएका छन् । उनले उद्योगधन्दा र कलकारखानालाई गति दिनका लागि बजेटले केही हदसम्म प्रयास गरेको बताए ।
बजेट चलायमान छ । नयाँ नीति तथा कार्यक्रम केही ल्याउन नसके पनि यो बजेटले उद्योगी, व्यवसायीलाई राहत पुग्ने धारणा राखे । करमा थोरैमात्र वृद्धि गरेकाले व्यवसायीले करका कारण विस्थापित हुनु नपर्ने बताए । ‘छोटी भन्सारलाई चलायमान बनाउँदै दुईदेशबीचको व्यापार नीतिमा यसपटकको बजेटले केही बोलेको छ’ –उनले भने– ‘बजेटका सवल पक्ष भनेकै व्यवसायीलाई भन्दा जनताले लक्षित गरेर ल्याइएको बजेटले जनतालाई नै अधिकार प्रत्यायोजन गरेकाले स्वागतयोग्य छ ।’
उता दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले यो बजेट पूर्ण बजेट नभएको प्रतिक्रिया दिए । करमा मदिरा र सूर्तीमा केही वृद्धि गरे पनि अन्यमा कर वृद्धि नगरेकाले व्यवसायी मारमा नपर्ने बताए । चुनाव भएका कारण पनि बजेट पूर्ण आउन सकेन । पूर्ण नआए पनि गाउँ–गाउँमा अधिकार सुम्पिएकाले बजेट स्वागतयोग्य छ ।
खेलकुद क्षेत्रलाई समेत बजेटले समेटेको भन्दै झापा फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङले बजेटको प्रशंसा गरे । उनले अघिल्लो बजेटको तुलनामा नयाँ कुरा नभए पनि जनतालाई अधिकार सुम्पिएर ल्याइएको बजेट आफैंमा राम्रो भएको बताए । जनस्तरबाटै अब खेलकुदको विकासका लागि केही गर्न सकिने बताउँदै उनले भने– ‘अधिकारसहित आएको बजेट जनमुखी छ । यसको हामी सबैले प्रशंसा गर्नुपर्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर