Aamsanchar

काँकडभिट्टाका सिटी सफारी चालकलाई रिफ्लेक्टिभ ड्रेस वितरण

Author Image
शुक्रवार, वैशाख १८, २०८३

काँकडभिट्टा । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को विशेष अवसर पारेर झापाको काँकडभिट्टामा सिटी सफारी चालकहरूका लागि एक सुरक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहकार्य तथा मेची नेत्रालय आँखा अस्पतालको सहयोगमा यहाँ सञ्चालित सिटी सफारीका चालकहरूलाई रिफ्लेक्टिभ ड्रेस (फ्लोरेसेन्ट ज्याकेट) वितरण गरिएको हो। सडक सुरक्षा र चालकहरूको व्यवसायिक पहिचानलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले स्थानीय यातायात क्षेत्रमा नयाँ उत्साह थपेको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै ट्राफिक पोष्ट काँकडभिट्टाका इन्चार्ज नारायण राईले यो अभियानले सवारी व्यवस्थापन र चालकहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार रिफ्लेक्टिभ ड्रेसको प्रयोगले सडकमा चालकहरूको दृश्यता बढ्ने मात्र नभई ट्राफिक प्रहरीलाई पनि अनावश्यक चेकजाँचको झन्झट बिना सवारी नियमन गर्न सहज हुनेछ। यसले गर्दा एकातिर दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ भने अर्कोतिर चालकहरूले मर्यादित रूपमा आफ्नो पेशा सञ्चालन गर्न पाउने वातावरण निर्माण हुने विश्वास लिइएको छ।

मेची नेत्रालयका प्रबन्ध निर्देशक डा. शरद चन्द्र राईले चालक, समाज र भारतबाट नेपाल प्रवेश गर्ने पाहुनाहरूको सुरक्षालाई मध्यनजर गर्दै यो अभियान सुरु गरिएको बताए। अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चालकहरूलाई सुरक्षित राख्न यो पहल गरेको हो। डा.राईका अनुसार अस्पतालले आगामी असार १४ गते आफ्नो १९औँ वार्षिकोत्सव मनाउन लागेको पूर्वसन्ध्यामा यस्ता सामाजिक कार्यहरूलाई अघि बढाइएको हो। आगामी दिनमा पनि यस्ता सुरक्षा र व्यवस्थापनका कार्यहरूलाई अस्पतालले निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे।

अस्पतालका म्यानेजर जय प्रकाश पोखरेल (ज्याक) का अनुसार पहिलो चरणमा २०० जना सिटी सफारी चालकहरूलाई यो रिफ्लेक्टिभ ड्रेस प्रदान गरिएको छ। यो वितरण प्रक्रियालाई व्यवस्थित बनाउन अनिवार्य रूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) भएका आधिकारिक चालकहरूलाई मात्र छनोट गरिएको थियो। कानुनी प्रक्रिया पूरा गरेका चालकहरूलाई प्रोत्साहन गर्दै सडक सुरक्षा सुदृढ बनाउन यो कदम चालिएको पोखरेलले जानकारी दिए। यस कार्यले काँकडभिट्टाको यातायात क्षेत्रलाई थप अनुशासित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

Views: 11

प्रतिक्रिया (०)