

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाइ गर्दा सीमा वरपर बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा पार्टीको ग्रिन टेबलको पहिलो शृंखलामा बोल्दै सभापति थापाले भन्सारमा कडाइ गर्दा सीमा वरपर बस्ने नागरिकहरूको दैनिक जीवनयापनमा नै समस्या देखिएको भन्दै यसबारे सदन र विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइने बताए ।
भन्सारमा कडाइ गर्दा स्थानीय नागरिकमाथि सुरक्षाकर्मीबाट हुने व्यवहारले आत्मसम्मानमाथि चोट पुगेको देखिएको उनको भनाइ छ । भन्सारमा कडाइ गर्दा व्यावहारिक पक्षलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

सभापति थापाले भन्सारमा राम्रो गर्ने नाममा नागरिकलाई अनावश्यक दुःख दिनेजस्ता नचाहिने कुराहरूमा हात हाल्ने काम नगर्न सरकारलाई सुझाव दिए । सीमामा हुने गरेको अव्यावहारिक कुराहरूलाई सधैँको लागि बन्द गर्नुपर्ने भए पनि कांग्रेस सरकारमा नै भएका बेला सय रुपैयाँभन्दा बढीका सामानमा कर लगाउने काममा जोड दिँदा आफूहरूकै दबाबमा सरकार पछि हट्नु परेको उनको भनाइ छ ।
सभापति थापाले अहिले जनताले उठाएका प्रश्न र गुनासालाई सुन्न सरकार तयार हुनुपर्नेमा जोड दिए । सिमानाको छेउमा बस्ने नागरिकहरूलाई अपराधी जस्तो गरी काम गर्नु उचित नहुने उनको भनाइ छ ।



