Aamsanchar

अपहरणमा परेको नाटक गर्दै आमाले छोरासँग फिरौती मागेपछि…

Author Image
बिहिवार, जेठ १८, २०७४

बिर्तामोड।

जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै ३० लाख रुपैयाँ फिरौती माग्लिन् भन्ने छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमानसँग ३० लाख रुपैयाँ फिरौती रकम माग्ने झापा बिर्तामोड–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरि गाउँपालिका–४) निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती मागेको रहस्य बाहिर आएको छ ।
गत जेठ ११ गते बबिता र विष्णु ११ बजे बबिताको घरबाट हिँडेका थिए । उनीहरुले विराटनगर पुगेर बबिताका दाजु कुलमणि बस्नेतलाई आफू अपहरणमा परेको भन्दै १० लाख रुपैयाँ फिरौती रकम मागेका थिए । साँझ ५ बजेर ३ मिनेट जाँदा बबिताले प्रयोग गर्ने मोवाइलबाट दाजु कुलमणि बस्नेतलाई ‘तेरी बहिनी मेरो कब्जामा छ, सकुशल चाहन्छस् भने १० लाख रुपैयाँ भनेको ठाउँमा ल्याइदे नत्र बहिनी र तँ अनि तेरा छोराछोरीलाई खतरा हुन्छ’ भन्दै फोन गरेको रेकर्ड प्रहरीले फेला पारेको छ । लगत्तै सोही मोवाइलबाट उनलाई सोही प्रकृतिको म्यासेज पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
बिराटनगरबाट बबिताका दाइ कुलमणिलाई फिरौतीको रकम मागेपछि भेडेटार गएर उनका श्रीमान र छोरालाई फोन र एसएमएस गर्दै फिरौती रकम बढाएर ३० लाख रुपैयाँ पु¥याएको प्रहरीले जनाएको छ । ‘रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोशीको किनारमा भेटाउँछस्’ भन्दै बबिताका श्रीमानलाई गोतामेले बबिताकै नम्बर प्रयोग गरेर एसएमएस गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले बताए ।
उनले भने– ११ गते बबिता वेपत्ता भएको भन्दै उनका श्रीमान मेघराज चौहान र छोरा इलाका प्रहरी कार्यालयमा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । बबिताको फेसबुक आइडीबाट छोरा, श्रीमान र दाजुलाई आफू अपहरणमा परेको र आफ्नो हालत यस्तो भएको भन्दै अडियोसहितको भिडियो म्यासेजमा पठाएर अपहरणमा परेको नाटक गरिएको प्रहरी नायव उपरीक्षक थेवेले बताए । प्रहरी नायव उपरीक्षक थवेका अनुसार उनका श्रीमानले १० लाख रुपैयाँ मात्र दिने भनेपछि पैसाको समेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत नै म्यासेज गरे ।
प्रहरी र उनका श्रीमानले नगद १० लाख रुपैयाँ बबिता सुत्ने बेडमा राखेर फोटो खिचेर म्यासेज बक्समा पठाएपछि उनीहरुले थप ५ लाख रुपैयाँ मागे । सो रकम समेत हामीले बन्दोवस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए । पैसा लिन आउने गोतामेका भाञ्जा रहेछन्, अनुसन्धानका क्रममा भाञ्जाबाट उनीहरुको मोवाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट पक्राउ गरेका हौं– प्रहरी नायव उपरीक्षक थेवेले भने ।
गोतामे र बबिता भागेपछि उनीहरु कसैले थाह नपाओस् भनी फिरौती रकम माग्दै स्थान परिवर्तन गर्दै बसे । प्रहरी नायव उपरीक्षक थेवेका अनुसार भागेको दिन बिराटनगरबाट भेडेटार, १२ गते धरान चतारा हुँदै झुम्का, १३ गते विरगञ्ज, १४ गते सर्लाही, १५ र १६ गते पुनः विरगञ्जमा बसेका थिए । १७ गते सर्लाहीको लालबन्दीको होटलमा रहेका बेला उनीहरुलाई हामीले पक्राउ गर्न सफल भयौं– थेवेले भने । बबिताका १८ बर्षका छोरा रहेको बताइएको छ । उता गोतामेका श्रीमतीसहित दुई छोरी, १ छोरा छन् ।

गोतामे र बबिताले सहमतिमा भागेर विवाह गर्ने निर्णय गरेको र जेठी श्रीमतीलाई मिलाउन आफूले यो नाटक गरेको पक्राउ परेका गोतामेले प्रहरी समक्ष स्वीकारेको बताइएको छ । पक्राउ परेका गोतमे मेनपावर व्यवसायी भएको बताइन्छ । उनले भारतको शिलगढीमा बबितासँग मिलेर मेनपावरको कार्यालय खोल्न लागेको समेत बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर