Aamsanchar

०४६ सालको जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य

Author Image
बुधवार, जेठ २४, २०७४

पर्वत ।

विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् ।

रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य भएका छन् । आन्दोलनका क्रममा काठमाडौं नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । उनी सँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए ।

खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताए । खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।

उपचारका लागि उनलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्किएका थिए । उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उनले काठमाडौंमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गरेका थिए ।

काठमाडौंमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उनले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाए ।

उनकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । अहिले कृत्रिम गोडाको सहायताले उनी हिँड्डुल गर्छन् । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उनको छैन । उनले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधैं पीडित नै बनिरहेको दुखेसो गरे ।

‘जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्,’ उनले गहभरि आँसु पार्दै भने, ‘अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।’

खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गरे । आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिग्रदै गएको छ । उनले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर