Aamsanchar

मण्डपबाट उठाइए बेहुला र बेहुली, प्रहरीचौकी घेर्न गए जन्ती

Author Image
शुक्रवार, जेठ २६, २०७४

इटहरी :

इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छाअनुसार दुवैका परिवार राजी भए अनि इटहरीस्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको थियो ।गोडा धुने कार्यक्रम सकिएर सिन्दुर हाल्ने बेलामा विवाह मण्डपमा प्रहरी पुग्यो ।

मण्डपमा बसेका बेहुला र बेहुली दुवैलाई प्रहरीले इलाका प्रहरी कार्यालय पकली पुर्‍यायो । कारण थियो, बेहुलीको उमेर । २०५७ सालमा जन्मेकी बेहुलीको उमेर नेपालको कानुनअनुसार विवाह गर्न योग्य थिएन ।

नेपालको कानुनले विवाहका लागि १८ वर्ष उमेर पुग्नुपर्ने जनाउँछ तर विवाहको सबै प्रक्रिया पूरा गरिसकेको परिवार मान्न तयार थिएन । परिणामतः बेहुलीका परिवार र जन्ती प्रहरी कार्यालय घेर्न गए ।
थानामा लामो वादविवादपछि दुवै पक्षलाई राखेर प्रहरीले छलफल चलायो तर बाहिर भीड अनियन्त्रित भयो, भीडले प्रहार गरेको ढुंगा इटहरी उपमहानगरपालिकाका कर्मचारी राजेन्द्र धिमालको हातमा लाग्यो । केही समय तनावको अवस्था उत्पन्न भयो ।

बालविवाह रोक्न लागि पर्ने स्थानीय क्लबका बालबालिका र केही अधिकारकर्मीमाथि आक्रोशित समूहले हातपातको प्रयाससमेत गरेको अधिकारकर्मी योसा गुरागाईँले बताउनुभयो । बिहीबार साँझसम्म पनि आक्रोशित समूहले प्रहरी कार्यालय घेरिरहेको थियो । उनीहरूलाई नियन्त्रण गर्न म्यादी प्रहरी खटाइएको थियो । ‘बाहिर निस्कन सकिने अवस्था नै छैन’, गुरागाईँले भन्नुभयो ।

प्रहरीले पनि राम्रो भूमिका ननिभाएको आरोप अधिकारकर्मी र बालविवाह रोक्न लागि परेका बालबालिकाको छ । साँझ अबेर मात्र प्रहरीले उजुरी दर्ताका लागि प्रक्रिया अघि बढाएको थियो । विवाह मण्डपबाटै दुलाहा दुलही उठाइएपछि आक्रोशित आफन्तले प्रहरी र अधिकारकर्मीको विरोध गरेका थिए ।

निम्न आर्थिक अवस्थाका बेहुली पक्षले निकै दुःख गरेर विवाह गरेको बेहुलीका आफन्त भीमकुमारी थापाले बताउनुभयो । ‘अर्काको गोठालो गरेर खाने परिवारको विवाह भाँडिदा कति समस्या भयो होला’, थापाले भन्नुभयो, ‘मन पराएरै विवाह गरेका हुन्, अब बेहुलीले आत्महत्या गरी भने को जिम्मेवार हुन्छ ? ‘ दुवैबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र दुवैले मन पराएर मागी विवाह गरेको उनीहरूका आफन्तले बताएका छन् ।

चार दिदीबहिनी र एउटा भाइसमेतको उक्त परिवारले निकै दुःख गरेर विवाह गरेकाले पक्राउ गर्न नहुने बताउँदै आफन्तले थाना घेरेका थिए । ‘उमेरै नपुगी विवाह हुन लागेको आरोप लगाउने हो भने पहिला नै भनेको भए हुन्थ्यो नि’, बेहुलीकी आफन्त दैयाकुमारी थापाले भन्नुभयो, ‘प्रहरी र यहाँका बाठा भनाउदाले अन्याय गरे ।’इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तिराम कार्कीले बालविवाहको मुद्दा चल्ने बताउनुभयो ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर